-->
दासढुंगा हत्याकाण्ड : रहस्य खोल्न एमाले उदासीन

काठमाडौं- 'पहिले मलाई मदन भण्डारीको निधन दुर्घटनाका कारण भएको भन्ने लाग्थ्यो, जब चालक अमर लामाको हत्या भयो, यो हत्याकाण्डजस्तो लाग्छ,' मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार ग्रहण गर्दै आइतबार फोटो पत्रकार चन्द्रशेखर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत एमाले नेतासामु भने, 'तपार्इंहरु सरकारमा हुनुहुन्छ, यस विषयमा अनुसन्धान गर्नुहोस्।'


समारोहमा छानबिनको विषय उठे पनि सम्बोधन क्रममा ओलीले यसबारे केही बोलेनन्।

उनै मदन र जीवराज आश्रितको स्मृतिमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा पनि उनले छानबिन विषय उच्चारणसम्म गरेनन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो।

उक्त घटनाबारे एमाले पार्टीका दस्तावेजहरुमा 'दासढुंगा हत्याकाण्ड' भनी उल्लेख छन्।

घटनालगत्तै एमालेले तत्कालीन स्थायी कमिटी सदस्य ओलीकै नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले भण्डारी र आश्रितको निधन 'सामान्य सडक दुर्घटनाका कारण मात्रै नभएर षड्यन्त्र भएको' निष्कर्ष निकालेको थियो।

त्यसयता एमाले एकल र संयुक्त गरी आठपटक सरकारमा रहिसकेको छ। तीन वटा सरकारको त नेतृत्व नै लिएको छ तर दासढुंगा दुर्घटनाको रहस्य र कारण भने गर्भमै छ। न एमाले पार्टीले घटनाको गहिरो अनुसन्धानमा चासो देखायो न उसको सरकारले नै स्वतन्त्र आयोग गठन गरी दोषी पत्ता लगाए।

बरु एमाले शीर्ष नेताहरु आफ्नै पार्टीका नेताको हत्याकाण्डको रहस्य लुकाउन संलग्न रहेको लान्छनासमेत सहेर बसिरहेका छन्।

पार्टीले निधनको कारण दुर्घटना नभई हत्या भएको निष्कर्ष निकालेर सडक तताएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले पूर्व महान्यायाधिवक्ता प्रचण्डराज अनिलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले सडक दुर्घटनामै निधन भएको प्रतिवेदन दिएपछि एमालेको चित्त बुझेन। देशव्यापी आन्दोलन जारी रह्यो।

आन्दोलन चर्किएपछि सोही सरकार बहालवाला सर्वोच्च अदालतका न्यायाधीश त्रिलोकप्रताप राणा संयोजकत्वमा छानबिन समिति बनायो। उक्त समितिले पनि सडक दुर्घटनाकै निष्कर्ष राखेर प्रतिवेदन बुझायो।

चालक अमर लामाले लापरबाही पूर्वक मोटर चलाएकाले दुर्घटना भएको निष्कर्ष उक्त समितिको थियो।

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर नेतृत्वमा नागरिक स्तरमा गठन भएको छानबिन समितिले भने हत्याकै निष्कर्ष दिएको थियो, तर दोषी भने किटेको थिएन।

स्वतन्त्र वामपन्थी नेता तुलाधर त्यतिबेला एमाले टिकटबाट सांसद थिए।

भण्डारीको निधनपछि रिक्त भएको काठमाडौं–१ को उपनिर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई भण्डारीपत्नी विद्यादेवीसँग पराजित भए। यो विषयले कांग्रेसमा ठूलो विवाद भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि भट्टराईविरुद्ध अन्तर्घात गरेको आरोप लाग्यो र त्यसै विवाद चर्किंदै गएर पार्टीमा दुई गुट छत्तिसे र चौहत्तरे सतहमा आए। सोही कारण संसद विघटन हुँदै मध्यावधि निर्वाचन हुन पुग्यो।

मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल बनेपछि पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा अल्पमतको सरकार गठन गर्योन एमालेले। महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री र स्थायी कमिटी सदस्य केपी शर्मा ओली गृहमन्त्री बने।

हत्याकाण्डबारे एमाले सरकारले अनुसन्धानका नाममा सिन्कोसम्म भाँचेन।

भण्डारी र आश्रितको निधन भएको २३ वर्ष पुगिसकेको छ, यो घटना भने रहस्यमै छ।

'खासमा अहिलेसम्म एमालेको एउटा मात्रै सरकार रहेको मान्छु। मनमोहन अधिकारीको नेतृत्वको नौ महिने सरकार। अरुसँग एमालेलाई जोड्न मिल्दैन,' एमाले नेता प्रदीप नेपालले भने, 'अन्य नेतासँग होइन, केपी शर्मा ओलीलाई मदन भण्डारीको सच्चा अनुयायी मान्छु। उहाँबाट केही हुन्छ कि?' नेता नेपाल मदन भण्डारीको हत्या र दक्षिण अफ्रिकाका कम्युनिस्ट पार्टीका महासचिव क्रिस हनीको हत्या एउटै समूहबाट भएको ठान्छन्।

'दुवैतिर कम्युनिस्टलाई उठ्न नदिने योजनाअनुसार यस्तो काम भएको हो,' नेपालले भने।

भण्डारीको निधन भन्दा २ महिनाअघि हनीको गोली हानी हत्या भएको थियो।

एमालेका तीन नेता माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली तीनै नेतृत्वमा सरकार गठन भइसकेको छ। पटक–पटक मन्त्री बनेकी मदन भण्डारी पत्नी विद्या भण्डारी अहिले राष्ट्रपति छिन्।

सरकारमा पटकपटक पुगे पनि छानबिन कुरा उठ्न सकेको छैन। लापरबाही पूर्ण रुपमा मोटर चलाएको आरोप लागेका चालक अमर लामा सजाय काटेर रिहा भए। रिहा भएपछि नेपाली कांग्रेसको सांस्कृतिक फाँटमा काम सुरु गरेका लामाको सशस्त्र द्वन्द्वको समयमा माओवादीले अपहरण गरेर हत्या गरेका थिए।

एमालेले विश्व कम्युनिस्ट आन्दोलनले धक्का खाएको समयमा नेपालमा भण्डारीले ल्याएको कार्यदिशाकै कारण पार्टी लोकप्रिय बनेको बताउँदै आएको छ। सोमबारको कार्यक्रममा समेत प्रधानमन्त्री ओलीले मदनको प्रशंसामा यही कुरा दोहोर्या एका थिए।

भण्डारीले अघि सारेको 'जनताको बहुदलीय जनवाद'लाई मार्गनिर्देशक सिद्धान्तका रुपमा एमालेले अपनाइरहेको छ।

'अहिले जेजति पार्टीले हासिल गरेको छ। त्यो मदन भण्डारीले अघि सार्नुभएको विचारकै जग हो,' एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले नागरिकसँग भने, 'विश्वभर कम्युनिस्ट आन्दोलनले धक्का खाएको समयमा भण्डारीले अघि सार्नुभएको विचार र सञ्चालन गर्नु भएको राष्ट्रवादी आन्दोलनकै कारण नेपालमा कम्युनिस्ट पार्टी लोकप्रिय बनेको हो।'

नेताहरुले सत्ताबाहिर हँुदा दासढुंगा हत्याकाण्ड छानबिनबारे हाइ–साउन्डिङ रुपमा उठाउने गरेको जनाउँदै एमाले प्रचार विभागका प्रमुख भट्टराईले नागरिकसँग भने, 'तर सत्तामा पुग्दा, आफूले नै प्रधानमन्त्री, रक्षा र गृह मन्त्रालय चलाउँदा पनि यस विषयमा उठाउनुपर्ने कुरा उठाउने गरेका छैनन्।'


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.