काठमाडौँ, जेठ १६ गते । शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत पु¥याउन नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता आगामी आर्थिक वर्षमा पनि पूरा नहुने भएको छ । शिक्षामा विनियोजित रकम प्रतिशत ओरालो लाग्ने क्रमले पुनः निरन्तरता पाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रमा कुल राष्ट्रिय बजेटको ११.०४ प्रतिशत विनियोजन गरिएको छ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा एक खर्ब १६ अर्ब ३६ करोड छ लाख रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा शिक्षामा ८७ अर्ब ९८ करोड ९८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले शिक्षामा सबैभन्दा बढी शिक्षक तथा कर्मचारीको तलबमै खर्च हुने चर्चा गर्दै भन्नुभयो, “शिक्षामा बजेट वृद्धि हुन नसक्नुले शैक्षिक गुणस्तरमा लगानी भएन भन्ने बुझ्नुपर्छ । ” आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा केही नयाँ कार्यक्रम अगाडि सारिएको छ । सरकारले आधारभूत तह (कक्षा १–८)को शिक्षा अनिवार्य र माध्यमिक (कक्षा ९–१२)को शिक्षा निःशुल्क गर्ने घोषणा गरेको छ ।
त्यस्तै स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सत्रको अन्तिम छ महिना समृद्ध नेपाल निर्माण सेवाका लागि विभिन्न गाउँ विकास समितिअन्तर्गत विकासनिर्माण र अध्ययन अध्यापनको कार्य गर्न स्वयंसेवकका रूपमा खटाउने योजनालाई अगाडि सारिएको छ । चार वर्षअघि पनि यस्तै कार्यक्रम ल्याइए पनि कार्यान्वयन हुन सकेको थिएन ।
शिक्षाविद् डा. वाग्लेले कार्यसम्पादन करार गरिए विद्यालय शिक्षामा निकै सुधार आउने दाबी गर्दै थप्नुभयो, “यो लागू गर्न त्यति सहज छैन, लागू गर्न सके धेरै राम्रो हुनेछ । ”
प्रस्तुत बजेट कार्यक्रममार्फत विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूसँग पनि कार्यसम्पादन सम्झौता गरिने भनिएको छ तर ककसका बीच त्यस्तो सम्झौता गर्ने भन्ने स्पष्ट छैन ।
बर्दिबास, बुटवल र सुर्खेतमा नयाँ मेडिकल कलेज स्थापना गर्ने, हरेक जिल्लामा कृषि क्याम्पस स्थापना गर्दै लैजाने, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, नक्साङ्कनका आधारमा विद्यालय र शिक्षकको दरबन्दी पुनः वितरण गरी प्राथमिक तहमा अधिक हुने शिक्षक दरबन्दीलाई छदेखि आठ कक्षासम्म समायोजन गर्नेलगायतका नयाँ कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...