-->
राष्ट्रिय सहमतिको सरकार आवश्यक : नेपाल

जेष्ठ १७, २०७३- एमाले नेता माधवकुमार नेपालले अर्को संसदीय निर्वाचनसम्मका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेका बताएका छन् ।

संविधान कार्यान्वयनलगायत राष्ट्रिय महत्व र आवश्यकताका कामहरु पुरा गर्न यस्तो सरकार चाहिएको उनले बताए ।
 
अहिले पनि राजनीतिक संक्रमणकाल रहकोले कांग्रेस र मधेसवादी दलहरुलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । सबै क्षेत्रमा राजनीतिकरण र पार्टीकरण भएकाले कुनै पनि काम हुन नसकेको भन्दै उनले देशलाई एउटा ‘सिस्टम’ मा हिँडाउन राष्ट्रिय सरकार चाहिएको बताए ।

‘सरकार र प्रधानमन्त्रीलाई केन्द्रविन्दुमा नराखौं,’ प्रेस चौतारीको भेटमा आज उनले भने, ‘राष्ट्रिय आवश्यकता पहिचान गरी सहमतिमा जाऔं ।’

नेपालले सबै पार्टीमा समस्या रहेको बताए । पार्टी नेतृत्वलाई कसैलाई काखापाखा नगरी योग्यता, क्षमताको आधारमा पारदर्शीरुपले सबैलाई समेटेर अघि बढ्नुपर्ने उनले सुझाव दिए । अहिलेको बजेट जनमुखी भएकाले विरोध गर्नुनपर्ने बताए ।
 
संसद विकास कोष हटाउनुपर्छ
यसैबीच नेता नेपालले सांसदलाई उपलब्ध गराइने कोषको रकम हटाउनुपर्ने बताएका छन् । ‘कोषको रकम अधिकांश दुरुपयोग भएको छ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘कोष हटाउनुपर्नेमा उल्टो बढाइएको छ । यसलाई हटाएको भए राम्रो हुन्थ्यो ।’

प्रत्यक्ष र समानुपातिक सांसदबीच द्वन्द्वसमेत बढाएको उनको भनाई थियो । अहिले भौतिक पूर्वाधार र मानव स्रोत विकासको समय भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.