डुंगा डुब्दा ३ दिनमा ७०० जनाको मृत्यु
जेठ १७ – संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसिआरले लिबियाको तटमा श्रृँखलाबद्ध रुपमा डुंगा डुब्दा सात सय भन्दा धेरै आप्रवासीको ज्यान गएको हुन सक्ने जनाएको छ ।
गएको बुधबार, बिहीबार र शुक्रबार अवैधानिक रुपमा युरोप प्रवेश गर्न चाहने आप्रवासी चढेको डुंगा डुब्दा धेरै मानिसको ज्यान गएको युएनएचसिआरले जनाएको छ ।
इटालीको दक्षिणी क्षेत्रमा पर्ने लिबियाको तटमा अफ्रिका हुँदै आएका आप्रवासी चढेका डुंगा डुबेका हुन् । ग्रिसले आप्रवासी आउने मार्ग रोकेपछि अहिले इटाली हुँदै लिबियाको मार्ग आप्रवासीले प्रयोग गर्ने गरेका छन् । बुधबार डुंगा डुब्दा हराएका झण्डै एक सय जना अझै बेपत्ता रहेको युएनएचसिआरकी प्रवक्ता कारलोट सामीले बताउनुभयो ।
यस्तै बिहीबार बिहान लिबियाको साब्राथा तटमा डुबेका पाँच सय ५० जना भन्दा धेरै अझै हराइरहेको उहाँले बताउनुभयो । शुक्रबार भएको अर्को डुंगा दुर्घटनामा परेका एक सय ३५ जनाको उद्दार गरिएको तथा ४५ जनाको शव भेटिएको युएनएचसिचारले जनाएको छ ।
तर एमएसएफ सि ग्रुपले भने गएको हप्ता मात्रै नौ सय भन्दा धेरैको ज्यान गएको जनाएको छ । उद्दार गरिका आप्रवासीलाई इटालीको टोरन्टो र पोजालियोमा लगिएको छ । शनिबार मात्रै ६ सय भन्दा धेरै आप्रवासीको लिबियाको तटबाट उद्दार गरिएको इटालीका अधिकारीले बताएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...