-->
सिंगल इन्जिनले यात्रु बोक्न पाउने

जेष्ठ २, २०७३- नेपालगन्ज र सुर्खेतलाई हब बनाउँदै बाजुरा र कर्णाली क्षेत्रमा उडान भर्दै आएका सिंगल इन्जिन जहाजले चार्टर उडान मार्फत यात्रु ओसार्न पाउने भएका छन् ।

पर्यटन मन्त्रालयले सदाका लागि चार्टर उडानमार्फत यात्रु बोक्न निषेध गरेको निणर्यविरुद्ध बैसाख १७ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका व्यवसायीका पक्षमा आइतबार अन्तरिम आदेश जारी भएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सिंगल इन्जिन जहाजलाई यात्रु चार्टर उडान रोक्न पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले गत फागुन २३ गरेको तत्कालिन र त्यसपछी उक्त निणर्यलाई सदाका लागि निरन्तरता दिने चैत २६ गते अर्को निर्णय गरेका थिए । उक्त निर्णय विरुद्ध व्यवसायीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चमा एयर काष्ठमण्डपबाहेक गोमा र मकालुले रिट हालेका थिए ।

‘सम्मानित अदालतले तत्कालकालागी मन्त्रीस्तरिय निणर्यको विपक्षमा अन्तरिम आदेश जारी गरेको छ,’ गोमा एयरलायन्सका प्रबन्ध निर्देशक मनोज कार्कीले कान्तिपुरसँग भने, ‘हामी चाडै नेपालगन्ज र सुर्खेतलाई हब बनाउँदै बाजुरा र कर्णालीको हुम्ला, जुम्ला, डोल्पा र मुगु यात्रु चार्टर उडान सुचारु गर्ने छौं ।’ व्यवसायीहरूका अनुसार मन्त्रालयबाट लिइएको इजाजतपत्र र नागरिक उड्डयन प्राधिकरणले दिएको हवाई यातायात सञ्चालन अनुमतिपत्र (एओसी) मा यात्रु चार्टर पनि अनिवार्य उल्लेख गरिएको छ । व्यवसायीहरुकातर्फबाट बोल्ने अधिवक्ताले सरकारलाई प्रस्तुत गरिएको बिजनेस प्लानमै कार्गो र चार्टर उडान राखिएकाले त्यही प्लान अनुसार दुर्गम क्षेत्रमा कार्गोसहित यात्रु चार्टर गरीरहेको दलिल प्रस्तुत गरेका थिए । नेपालमा यस्तो जहाज उडाने एयर काष्ठमण्डपसहित तीन वटा कम्पनीका ५ वटा विमान मात्रै छन । यी विमान मध्य/सुदुरबाहेक अन्य क्षेत्रमा उडैनन ।  

जुम्लाका लागि नेपालगंजबाट उडेको एयर काष्ठमण्डपको प्याक एक्सस्टलएल विमान फागुन १४ कालिकोटमा दुर्घटनामा परेपछी पर्यटन मन्त्रालयले ‘तत्कालका लागि’ सिंगल इन्जिन विमान नेपाली व्यवसायीले खरिद गर्न नपाउने तथा बाँकी ५ विमानको यात्रु चार्टर उडान पनि रोकेको थियो । उक्त घटनासँगै मन्त्रालयले प्राविधिक सहसचिवको नेतृत्वमा यस्तो जहाजको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको थियो ।

उक्त समितिले मध्यपश्चिमको सुर्खेतमा स्थलगत अध्ययन गरी गत चैत ११ गते पर्यटनमन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवदेनले सिंगल इन्जिन जहाजले यात्रु बोक्ने विषयमा मौनता प्रकट गरेको थियो ।

‘नेपालमा हालसम्म दुर्घटनामा परेका विमानहरुको विश्लेषण गर्ने हो भने टुइनअटर जहाजलाई रोक्नु पर्ने अवस्था छ । तर कर्णाली जस्तो विकटमा दुईटा इन्जिन भएका जहाज उडाने नेपाल वायुसेवा निगम र निजी व्यवसायी नगइरहेकाबेला हाम्रा विमानलाई रोक्नु सरकारको पूर्वाग्रह थियो,’ सिंगल इन्जिन जहाजका एक लगानीकर्ताले भने । जहाज मान्छे मार्ने उदेश्यले नबाइने तर्क गर्दै उनले भने, ‘सिंगल इन्जिन जहाज ठूलो विमानस्थल निर्माण गर्न कठिनाई भएका मुलुक तथा अग्ला पहाडी खोंच, टापु भएका मुलुकमा यात्रु बोक्ने मुख्य साधन हो ।’ यो विमान घाँसे मैदान, खोलाको बगर, चौर, रोडा मात्रै भएको कच्ची धावनमार्गमा पनि अवतरण गराउन सकिन्छ ।

चार्टर उडान रोकिँदा व्यवसायीहरूले हालको आम्दानीमा ४० प्रतिशत कटौती हुने बताउदै आएका थिए । सिजनमा प्रतिउडान एकतर्फी ५० मिनेटका दरले उड्ने क्षमता भएको सिंगल इन्जिन जहाजले नेपालगन्ज सिमीकोट दैनिक ५ वटासम्म उडान भर्ने गरेको रेकर्ड रहेको छ । सिजनमा एउटा जहाजले दैनिक १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्छ । तीनवटा निजी एयरलायन्सको यो क्षेत्रमा जहाजसहित कुल लगानी कम्तीमा पनि ८० करोड रुपैयाँ रहेको भनेका छन । एउटा उडानमा नौ जना यात्रु बोक्ने सिंगल इन्जिन जहाजले हुम्लाको सिमीकोटदेखि नेपालगन्जको दुईतर्फी भाडा प्रतियात्रु १६ हजार ५ सय रुपैयाँ लिन्छन ।

यो विमानले कार्गो ढुवानी गर्दा सुर्खेतदेखि हुम्ला प्रतिकेजी १ सय र नेपालगन्जदेखि १ सय १० रुपैयाँ लिने गरेको छ । सिंगल इन्जिनले कार्गो मात्रै उडाउँदा एक पटकमा साढे ४ सय किलोग्राम बोक्ने गरेको छ ।  हाल नेपालमा एयर काष्ठमण्डपसँग एउटा, गोमा एयरसँग दुइटा र मकालु एयरसँग दुइटा गरी ५ वटा सिंगल इन्जिन जहाज  कमर्सियल कार्गो/चार्टर यात्रु उडान भर्दै आएका छन । नागरिक उड्डयन प्राधिकरणले यस्ता विमानलाई कार्गो र यात्रु एकैपटक तथा नियमित तालिका उडान (सेडुल फलाइट) निषेध गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.