-->
संघीय गठबन्धन फुट्दै, नयाँ आन्दोलनको मधेशी मोर्चाले नै बहिष्कार गर्ने

काठमाडौं, ६ जेठ । सिंहदरबार र बालुवाटार घेर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका संघीय गठबन्धनको आन्दोलन नमज्जाले तुहिएको छ । 


मांग पुरा नहुंदा सम्म सिंहदरबार घेरावबाट पछि नहट्ने भनेर घोषणा गरेका उपेन्द्र यादवलाई उनकै गठबन्धनमा आबद्ध मधेशी मोर्चाका नेताहरूले नै असहयोग गरेपछि चार दिनमै आन्दोलन तुहिएको हो ।

आफ्नो कमजोरी र असफलतालाई लुकाउन उपेन्द्र यादवले राष्ट्रिय आन्दोलनलाई काठमाडौंको गल्ली बाजारमा कोण सभामा परिणत गरेका छन् । साथै जिल्ला जिल्लाबाट आएका आफ्ना नेता कार्यकर्तालाई पनि फिर्ता जान निर्देशन दिईसकेका छन् ।

यसरी चार दिनमै आन्दोलन तुहिनु पछाडिको मुख्य कारण उपेन्द्र यादवको एकलौटी र अहंकारी व्यवहार भएको मधेशी मोर्चामा आबद्ध नेताहरूले बताउंदै आएका छन् । तमलोपाका महमन्त्री जीतेन्द्र सोनलले संघीय गठबन्धनको आन्दोलनले मधेशको मांग सम्बोधन नहुने बताउंदै मधेशी मोर्चालाई पुनर्जीवित गर्ने बताए ।

यस्तै, सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले पनि उपेन्द्र यादवमाथि संघीय गठबन्धनको नाममा आफ्नो पार्टी विस्तार मात्र गरेको र आन्दोलन र मधेश मुद्दा प्रति इमानदार नभएको आरोप लगाए । उनले उपेन्द्र यादवलाई नेता बनाउन संघीय गठबन्धनको आन्दोलनमा आफ्नो ऊर्जा नखर्चिने बताए ।

फोरम गणतांत्रिकका अध्यक्ष राजकिशोर यादवले संघीय गठबन्धनले काठमाडौंमा सांकेतिक आन्दोलन गर्ने हैसियत मात्रै रहेको र निर्णायक आन्दोलनको लागि मधेशी मोर्चाको नेतृत्वमा मधेश केन्द्रित आन्दोलन नै एकमात्र विकल्प रहेको बताए । संघीय गठबन्धनको आन्दोलन र बैठकहरूलाई तमलोपाले पूर्णतः र सदभावना, फोरम गणतान्त्रिक, रामसपा, नेसपाले आंशिक बहिष्कार गर्दै आएको छ ।

स्रोतले बताए अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुरले चांडै मधेशी मोर्चाको बैठक बोलाउने र आधिकारिक रूपमै संघीय गठबन्धनबाट आफूहरू बाहिरिने निर्णय गर्ने सोचमा पुगेका छन् ।

यसका लागि उनले राजेन्द्र महतो, अनिल झा, शरद सिंह भण्डारी र राजकिशोर यादवसंग छुट्टाछुट्टै भेट गरेका थिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.