-->
ट्याङ्करको पानीमा मापदण्डभन्दा बढी एमोनिया

सीता शर्मा 

काठमाडौँ, जेठ १०  गते ।  उपत्यकाभित्र ट्याङ्करले ओसार्ने पानीको गुणस्तर परीक्षण गराउँदा मापदण्डभन्दा बढी एमोनिया फेला परेको छ ।  
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको खानेपानी गुणस्तर परीक्षण शाखाका अनुसार २९ वटा ट्याङ्करको नमुना परीक्षण गर्दा १२ वटामा एमोनियाको मात्रा २० मिलिग्रामसम्म देखिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले खानेपानीमा एमोनियाको मापदण्ड १.५ मिलिग्रामसम्म तोकेको छ । 
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले मापदण्डभन्दा बढी एमोनिया भएको पानी सेवन गर्दा तत्काल झाडापखाला लाग्ने, पेट फुल्नेजस्ता समस्या हुने तर दीर्घकालसम्म मिर्गौला बिग्रने, नसासम्बन्धी विभिन्न समस्या देखिने, आन्द्रामा क्यान्सर हुनसक्ने बताउनुभयो । 
खानेपानी गुणस्तर परीक्षण शाखाका प्राविधिक ज्ञानेन्द्रबहादुर कार्कीले बल्खु, कलङ्की, बालाजु, महाराजगन्ज, चाबहिल र सातदोबाटोमा गुडिरहेका ट्याङ्करबाट २९ वटा नमुना सङ्कलन गरिएको र थप १० वटा नमुना पनि परीक्षण भइरहेको जानकारी दिनुभयो ।  “ट्याङ्कर व्यवसायीले वितरण गर्ने खानेपानीको नमुना परीक्षणबाट मापदण्डभन्दा धेरै गुणा बढी एमोनिया फेला परेको छ”, उहाँले भन्नुभयो, “ट्याङ्करको पानीमा जीवाणु भए नभएको बारेमा हाल परीक्षण गरेका छैनौँ । ”
उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत योगेन्द्रबहादुर बमका अनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डबमोजिम पानी आपूर्ति गर्दा पिउने र अन्य प्रयोजनको पानी अलगअलग साधनबाट ढुवानी गर्न, ग्राहकलाई पानीको स्रोत, प्रयोजन एवं मूल्य खुलेको बिल अनिवार्य उपलब्ध गराउनुपर्ने नियम सार्वजनिक गरिएको छ ।  उपत्यकामा हाल सात सयवटा खानेपानी ट्याङ्कर सञ्चालनमा छन् ।  ट्याङ्कर व्यवसायीले उपत्यकाका विभिन्न ६५ स्रोतबाट पानी भरेर उपभोक्तालाई वितरण गर्दै आएका छन् भने अनुगमन नहुँदा उपभोक्ता गुणस्तरहीन पानी उपभोग गर्न बाध्य भएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.