कतै उठ्याे, कतै धसियाे कालिगण्डकी
पोखरा/पर्वत–कालीगण्डकी नदीको सतह कतै उकासिँदा र कतै भासिँदा आसपासका बस्ती जोखिममा परेका छन् । माथिल्लो खण्ड (मुस्ताङ) मा ढुंगा, गिटी र बालुवा नझिक्दा नदीको सतह उकासिएर बस्तीबराबर हुँदा बाढी पस्ने खतरा छ । तल्लो भेग (पर्वत) मा जथाभाबी उत्खनन गर्दा नदी गहिरिएर बस्ती बग्ने जोखिम बढेको छ ।
डेढ दशक अघिसम्म मुस्ताङ खण्डमा कालिगण्डकी नदी जमिन सतहभन्दा करिब दुई मिटर गहिरिएर बग्थ्यो । त्यही कारण आसपास क्षेत्रमा बस्ती बाक्लिँदै गएको हो । तर, केही वर्षयता ढुंगा, गिटी र बालुवा थुप्रिँदा बस्तीसँग समानान्तर हुनेगरी नदीले सतह लिएको छ । यसले गर्दा बर्खामा आसपास बस्तीमा नदी पस्ने खतरा बढेको छ ।
त्यही कालिगण्डकीको पर्वत खण्ड, जहाँ नदीबाट जथाभाबी ढुंगा, बालुवा र गिटी निकालिएका कारण सतह गहिरिएको छ । यसले नदी आसपास पर्वतका दर्जनबढी धार्मिकस्थल र बस्ती संकटमा पर्ने देखिएको छ । क्रसर व्यवसायीको निरन्तर नदीदोहनले सतह गहिरिएर माझफाँटको वारिबेनीबजार, मिलनचोक, लस्ती, मालढुंगा, राजाको बगर वरपरका बस्ती जोखिममा छन् । डोजर र एक्साभेटर प्रयोग गरेर उत्खनन गर्दा नदीको सतह गहिरिँदै गएको हो ।
प्राविधिकका अनुसार कालिगण्डकीको मुस्ताङ क्षेत्रमा वर्षमा करिब ३ लाख घनमिटर नदीजन्य सामग्री (ढुंगा, बालुवा र गिटी) थपिन्छ । यसरी थुप्रिने सामग्री उत्खनन गरेर नहटाउने हो भने धेरै गाउँ बाढीको चपेटामा पर्न सक्छन् । यसले गर्दा माथिल्लो र तल्लो क्षेत्रका बासिन्दा त्रसित छन् । नदीको त्रास म्याग्दीमा पनि छ । त्यहाँ मुस्ताङ र पर्वतमा जस्तो विकराल रूप देखिएको छैन ।
कुश्मा नगरपालिका १ राजाको बगरनजिक बस्दै आएका ठाकुरबम मल्लले नदी जथाभाबी उत्खनन गर्ने तर, बस्ती संरक्षणमा ध्यान नदिने परिपाटीले विनाश निम्त्याउने बताए । 'जिल्ला विकास समितिले ठेकेदार र क्रसर व्यवसायीलाई मापदण्डविपरीत नदीबाट निर्माण सामग्री निकाल्न दिएको छ । तर त्यहाँबाट जिविसले पाउने आम्दानीमध्ये बस्ती संरक्षणमा एक रुपैयाँ पनि खर्च भएको छैन,' उनले भने । कालिगण्डकीकै पर्वत खण्डको अधिक दोहनले पर्वत र बागलुङ जोड्ने पक्की पुलसमेत जोखिममा छ । जग रहेको क्षेत्रबाटै क्रसर उद्योगले जथाभाबी निर्माण सामग्री निकाल्दा पुलमा असर पुगेको हो ।
मुस्ताङ, कोवाङका सन्तोष शेरचन भन्छन, 'जतिसक्दो छिटो नदीमा थुप्रिएको बालुवा, ढुंगागिटीलगायत सामग्री नहटाए बर्खामा कुनै बेला पनि नदी पसेर बस्ती बगाउन सक्छ । जलवायु परिवर्तनले माथिल्लो क्षेत्रमा हिमपहिरोको पनि जोखिम छ । हिमपहिरो जानेक्रम बढेको छ । त्यसैले हिउँद, वर्षा जहिले पनि त्रास छ ।' मुस्ताङका छुक्साङ, कागबेनी, तिरी, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, धम्पु, कोखेठाँटी गाउँका सयौं बस्ती जोखिममा छन् । कोवाङका खन्ती, सौरु, लार्जुङ झनै बढी जोखिममा छन् ।
जिल्ला विकास समिति मुस्ताङका इन्जिनियर सकलदेव शर्माका अनुसार नदीमा वर्षमा करिब ३ लाख घटमिटर ढुंगा, गिटी र बालुवा थुप्रिन्छ । कालिगण्डकीसँगै खहरेबाट बगेर आएको ढुंगा, गिटी र बालुवाले नदीको सतह बढाइरहेको उनले बताए । यो क्रम बर्सेनि बढ्दा सतह बस्तीसँग समानान्तर हुने गरी उकासिएको हो । 'नदीले हरेक वर्ष उचाइ लिइरहेको छ । सतह बढ्दै जाँदा डेढ दशक अवधिमा करिब २ मिटर उकासिएको छ,' १५ वर्षदेखि जोमसोममा बस्दै आएका उनले भने, 'पछिल्लो समय झनै तीव्र्र रूपमा ढुंगा, गिटी र बालुवा थुप्रिन थालेको छ ।'
नदी आसपासका चोखोपानी, मार्फा, स्याङ, ठिनी, पाण्डा, नरसिङ र शाङटा खोलाबाट बर्सेनि ठूलो मात्रामा ढुंगा, गिटी, र बालुवा कालिगण्डकीमा मिसिने उनले बताए । केही फराकिलो भएर बगेकाले नदीले अहिलेसम्म ठूलो क्षति पु¥याएको छैन तर जोखिम बढेको छ । उनका अनुसार नदीले वर्षमा करिब ५० सेन्टिमिटर उचाइ लिने गरेको छ । वातावरणमा असर नपार्ने गरी मुस्ताङ क्षेत्रबाट बालुवा, ढुंगागिटी निकाल्नुपर्ने उनको सुझाव छ ।
रेडक्रस, मुस्ताङका सभापति चन्द्रबहादुर थकाली पछिल्लो समय नदीको सतह बस्तीसरह हुन थालेको बताउँछन् । थकालीका अनुसार अहिले मुस्ताङमा पानी पर्ने शैैली पनि फेरिएको छ । यस्तो हुनुमा जलवायु परिवर्तनको असर हुनसक्ने उनको अनुमान छ । उनका अनुसार पहिला पहिला सिमसिम पानी पर्नेमा अहिले एकैपटक भीषण वर्षा हुन्छ । त्यसले बाढीको त्रास बढाएको उनले बताए । त्यसबाहेक हिमाली क्षेत्र भएकाले हिमपहिरोको खतरा उत्तिकै छ । 'बस्ती आसपास क्षेत्रमा तटबन्ध नगरे कुनै पनि बेला बाढीले जोखिम निम्त्याउन सक्छ,' उनले भने ।
नदीमा थुप्रिएको सामग्रीले जोखिम बढेको भन्दै संसदको वातावरण समितिले समेत सचेत गराएको छ । एक महिनाअघि मुस्ताङमा वातावरणको असर बुझ्न गएको समितिले नदी आसपासका बस्ती तत्काल सुरक्षित क्षेत्रमा सार्न सुझाएको छ । समिति सभापति जनकराज चौधरी भन्छन्, 'संरक्षित क्षेत्र भएकाले कालिगण्डकीको माथिल्लो भेगबाट बालुवा, ढुंगामाट झिकिएको छैन । अब झिक्न विलम्ब गर्न हुँदैन । नदी बग्ने र बस्तीको सतह समान छ । कुनै पनि बेला बस्तीमा बाढी पस्न सक्छ । तत्काल बस्ती जोगाउने काम थाल्नुपर्छ ।' वर्षा र हिउँद सधैं नदी आसपासका बस्ती डुबानको खतरामा रहेको उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले कालिगण्डकी नदीबाट जथाभाबी ढुंगा, गिटी, बालुवा निकाल्न पाइँदैन । स्थानीयले घर बनाउनपरे ढुंगा, गिटी, बालुवा निकाल्न सक्ने, तर व्यावसायिक काममा लगाउन पाइँदैन । त्यसले गर्दा बर्सेनि मुस्ताङ खण्डमा ढुंगा, गिटी, बालुवा थुपिँ्रदै जाँदा सतह बढेको हो । समिति सभापति चौधरीले संरक्षित क्षेत्रभित्र परे पनि पहिलो प्राथमिकता बस्ती जोगाउनु रहेको बताए । 'संरक्षण क्षेत्रभित्र परेकाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेर नदीबाट ढुंगा, गिटी, बालुवा निकाल्नुको विकल्प छैन,' उनले भने, 'संरक्षित क्षेत्रभित्र पर्दैमा मानवीय क्षति हुन दिनु भएन । इआइए गरेर जति निकाल्दा वातावरणमा असर गर्दैन, त्यत्ति निकाल्नुपर्छ ।'
ढुंगा, गिटी, बालुवा थुप्रिएर सतह बढ्दै जाँदा जोखिम बढाएको भन्दै जिल्ला विकास समिति मुस्ताङले इआइए गर्ने तयारी ग


0 comments
प्रतिक्रिया दिनुहोस्...