-->
आशंकाको पोखरीमा पौडिएर आनन्द लिनुहोस्, तर हामी कार्यान्वयन गरेरै छाड्छौं

विष्णुप्रसाद पौडेल (अर्थमन्त्री)

बजेट त लोकप्रिय नै हुनुपर्छ र त्यसै अनुसार आएको छ । यो बजेटले दुईवटा महत्वपूर्ण प्रश्नमा ध्यान केन्द्रित गरेको छ ।

अहिलेसम्मको अनुभवको जगमा उभिएर विगतका कमजोरीलाई पनि दृष्टिगत गरी आउने दिनमा कसरी पूर्वाधारका आयोजनाहरुमा लगानी केन्द्रित गर्न सकिन्छ, कसरी उत्पादन बढाउन सकिन्छ, कसरी रोजगारी सृजना गर्न सकिन्छ, अनि आफ्नो देश आफै बनाउन सकिन्छ भन्नेबारे आमनागरिकमा आत्मविश्वास कसरी बढाउन सकिन्छ भन्नेमा बजेट बढी केन्द्रित छ । 

बजेट कसरी कार्यान्वयन हुन्छ भनेर आशंका हुनु स्वभाविक नै हो । विगतको हाम्रो अभ्यास हेर्दा हामी जस्तो परिस्थितिबाट गुज्रिएर आयौं, त्यसलाई हेर्दा बजेट कार्यान्वयन होला त भन्ने प्रश्नलाई म जायज मान्छु ।

तर म के भन्छु भने विगतमा हामीले जस्तो अभ्यास गर्यौं, जस्तो भोग्यौं, फेरि त्यही हुन्छ र त्यही गर्छौं भनेर बस्यो भने त यो देश बनाउँछौं भनेर भन्न छोडे भैगयो नि । त्यसैले विगतको अभ्यास र अनुभवबाट शिक्षा लिन्छौं । बजेट कार्यान्वयनको लागि प्रभावकारी नीतिगत, संरचनागत र कार्यक्षेत्रगत योजना बनाएर अघि बढ्छौं । त्यो संकल्प र दृष्टिकोण यो बजेटले अघि सारेको छ ।

पहिलो काम भनेको पुँजीगत खर्च आर्थिक वर्षको अन्त्यमा गर्ने जुन खालको प्रचलन थियो, त्यो प्रचलनलाई हामी अन्त्य गर्छौं र यो बजेट पारित हुँदा नहुँदै आर्थिक वर्षको आरम्भसँगै कार्यान्वयन गर्छौं । मेरो संकल्प त के हो भने साउन सुरु हुँदा नहुँदै पूर्वाधार आयोजनमा, पुँजीगत खर्चमा निकासा दिनुपर्छ भन्नेमा छु । 
दोस्रो भनेको समयमा निर्णय नहुने, समयमा कार्यान्वयन नहुने अनि त्यसबाट लागत पनि बढ्ने र समय पनि बढ्ने र आयोजनाहरु असफल हुने जुन खालको स्थिति रह्यो, यसलाई सच्याउनुपर्छ । त्यसैले आयोजनाको लागत बढ्दैन, आयोजनाको समय बढ्दैन, निर्माणको समय बढ्दैन र आयोजनाको गुणस्तर कमजोर हुँदैन भन्नेमा मुख्य जोड हो । 

अनि आयोजना सम्पन्न भएपछि पनि निश्चित अवधीसम्म त्यसको संरक्षण र मर्मतसम्भारको जिम्मा निश्चित गरिनुपर्छ भन्ने दृष्टिकोण र मान्यता बजेटले अघि सारेको छ । त्यसैले बजेट कार्यान्वयनको चुनौती सम्बन्धमा जे चर्चा चलेको छ, कार्यान्वयन नभएको विगतको पृष्ठभूमीमा यो स्वाभाविक छ । तर अहिलेको बजेटले कार्यान्वयनको संकल्प पनि सँगै लिएर आएको छ ।

छिटै सरकार परिवर्तन हुने भएकाले सरकारले प्रचारमुखी र वितरणमुखी भन्नेहरुलाई म त्यही मनोरम पौडी पोखरीमा पौडिनको लागि सुझाव दिन चाहन्छु । उहाँहरु आशंकाको पोखरीमा पौडिएर आनन्द लिनुहोस् । यसमा मैले भन्नु केही छैन । जहाँसम्म सरकार फेरिन्छ कि बस्छ भन्ने प्रश्न छ, सदा सदा घाम जुन रहेसम्म सरकार रहन्छ भन्ने विश्वास हामीले पनि लिएका छैनौं ।

हामीले आवधिक निर्वाचनमा विश्वास गरेका छौं । यसको अर्थ निश्चित अवधिमा सरकार फेरिन्छ भन्ने हामीलाई पनि थाहा छ । र मेरो बुझाई के हो भने यो सरकारले बजेट निर्माण पनि गरेको छ र बजेट कार्यान्वयन पनि गर्छ ।

– अर्थमन्त्री पौडेलसँग मिलन तिमिल्सिनाले गरेको कुराकानीमा आधारि


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.