काठमाडौं – सीता थापा (नाम परिवर्तन) गर्भवती छिन् । तर, उनमा न आमा बन्नुको उल्लास छ, न गर्भको बच्चाप्रति कुनै आत्मीयता नै । जमलस्थित ग्रान्डी सिटी क्लिनिकमा भेटिएकी दाङकी सीता आठ महिनादेखि काठमाडौँको एउटा सेल्टरमा छिन् । उनी सरोगेट मदर (कोख भाडामा दिने आमा) हुन् । आफ्नो कोखमा हुर्किरहेको बच्चा कसको हो भन्ने पनि उनलाई थाहा छैन । उनलाई बस् यति भनिएको छ– ‘उनको कोखमा हुर्किरहेको बच्चा विदेशीको हो ।’ उसो त उनलाई बच्चाको बाउ थाहा पाउन जरुरी पनि छैन । किनभने, उनको काम बच्चा जन्माइदिने मात्रै हो । जन्माइदिए बापतको पारिश्रमिक चार लाख रुपैयाँ पाउनेछिन् । नौ महिना आफ्नो कोखमा खेलेको सन्तानको अनुहारसमेत उनले देख्न पाउने छैनन् । उनी उता प्रसव पीडापछिको थकानमा हुनेछिन्, उता बच्चा विदेशीको हातमा परिसक्नेछ । उनीसँग बच्चा निकाल्न गरिएको अप्रेसनको खाटामात्र जीवनभर रहिरहनेछ ।
०००
अमेरिकी नागरिक एन्टोनियो रुइस्यान्चेज ८ नोभेम्बर २०१४ मा नेपाल आइपुग्दा उनको बच्चा ग्रान्डी इन्टरनेसनल अस्पतालमा तयार थियो । कुरियरमार्फत अमेरिकाबाट पठाएको उनको स्पर्म (वीर्य) बाट बच्चा जन्माइदिने काम गरेकी थिइन्, भाडाकी आमा लताले । बच्चा जन्मिएको १९ दिनपछि नेपाल आइपुगेका बाबुले बाँकी रकम चुक्ता गरी बच्चा लिएर गए । १५ जनवरी २०१५ मा ती सरोगेट शिशुको पासपोर्ट तयार भयो । त्यसपछि उनले बच्चा अमेरिका लगे ।
सीता र लताजस्ता सयौँ नेपाली महिला अहिले कोख भाडामा लगाएर बच्चा जन्माइदिने काममा छन् । लाग्छ– नेपालमा अहिले नयाँ रोजगारी सुरु भएको छ र गरिब महिलाले काम पाएका छन् । उनीहरूका लागि यो आयको एउटा स्रोत भएको छ ।
नेपालमा भर्खरै मौलाएको डरलाग्दो धन्दा हो यो । केही रकमको लालचमा पारेर उनीहरूको कोख ‘बेचिदिन’ दलालहरूको ठूलो सञ्जाल सक्रिय छ । त्यही सञ्जालसँग हातेमालो गरेर व्यापारिक घरानाले सञ्चालन गरेका केही अस्पताल मालामाल भइरहेका छन् । यतिमात्रै होइन, ती अस्पताल सञ्चालकहरू दलालको ‘मानवअंग बेचबिखन’ धन्दालाई वैध बनाइदिन पनि ‘लबिङ’ गरिरहेका छन् ।
देहव्यापारलाई समेत कानुनी मान्यता दिइरहेका देशहरूमा पनि सरोगेसी सेवा प्रतिबन्धित छ ।
नेपालमा भने अस्पताल सञ्चालकहरू ‘मेडिकल टुरिजम’को हब बनाउने भ्रम छरेर नेपाल सरकारका उच्च पदस्थ अधिकारीलाई प्रभावमा लिन खोजिरहेका छन् । सरोगेसी सेवामा कानुन बन्नु त परको कुरा, नेपालमा यससम्बन्धी बहस पनि राम्ररी सुरु भएको छैन । तर, दलालको आडमा केही अस्पतालले विदेशी नागरिकलाई भने नेपालमा सरोगेसी सेवा वैध भएको विश्वास दिलाइसकेका छन् । यही विश्वासमा परी विभिन्न देशका राजदूतजस्ता उच्च ओहोदामा रहेकाहरूले नेपालमा सरोगेट बेबी जन्माइरहेका छन् । सरोगेसी सेवा दिइरहेको ज्योति ग्रुपले सञ्चालन गरेको ग्रान्डी सिटी अस्पतालका अध्यक्ष डा. रूप ज्योति कानुन नबने पनि सरोगेसी सेवा गैरकानुनी नभएको दाबी गर्छन् । आफूहरूले यो सेवा दिइरहेको स्विकार्दै उनी तर्क गर्छन्, ‘खाना खान कानुन नचाहिएजस्तै यो सेवा दिन पनि कानुन आवश्यक छैन । कानुनले नगर्नू भनेर कहाँ भनेको छ ?’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. गुणराज लोहनी भने कानुन नबनाई सरोगेसीसम्बन्धी सेवा दिन नमिल्ने बताउँछन् । भन्छन्, ‘यो विषयमा भर्खर अलि–अलि बहस आरम्भ भएको छ । यो सही हो वा गलत भन्ने निष्कर्ष निकालेर कानुनी प्रावधान नआएसम्म सेवा दिनु वैधानिक होइन ।’
सामाजिक मूल्य–मान्यताअनुसार पनि महिलाको पाठेघरको व्यापार गराउन खोज्नु आपराधिक कार्य रहेको नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री बताउँछिन् । उनी भन्छिन्, ‘कानुन बनाएरै महिलाको पाठेघरलाई खरीद बिक्रीको वस्तु बनाइनु महिलाको घोर अपमान हो ।’
को–को छन् सक्रिय ?
भारत र थाइल्यान्डमा सरोगेसी प्रतिबन्धित भएपछि नेपाललाई नयाँ गन्तव्य बनाउने माफियाहरूको सोच र योजनालाई ग्रान्डी अस्पतालले पूरा गरिदियो । नेपालमा सरोगेसी धन्दाको जन्मदाता बन्यो यो अस्पताल । अन्तर्राष्ट्रिय स्तरमा सञ्जाल रहेका कारण ग्रान्डीलाई सो धन्दा गर्न सहज भएको थियो । भारत र थाइल्यान्डमा प्रतिबन्ध लागेपछि त्यसअघि नै गर्भधारण गरेका महिला र ‘एडभान्स’ लिएका सेवाग्राहीलाई सेवा दिने बाध्यता परेपछि माफियाहरूको प्रवेश नेपालमा भएको हो । सुरुवाती समयमा दलालहरूले नेपालका अस्पतालमा प्रसूति सेवाका लागि महिलाहरू ल्याउने काम गर्थे । बिस्तारै उनीहरूले ग्रान्डी अस्पतालमा आईभीएफ नै सुरु गरी गर्भधारण गराउने काम सुरु गराएका थिए ।
सरोगेसीमा मोटो रकम आउने देखेपछि ग्रान्डी अस्पतालका प्रमुख सञ्चालक डा. रूप ज्योतिले त्यहाँबाट अलग भई ग्रान्डी सिटी क्लिनिक स्थापना गरे । ज्योतिले पनि आधुनिक प्रविधि भिœयाएर सरोगेसी सेवा सुचारु गरेका छन् ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भारतीय एम्ब्रियोलोजिस्ट डा. रिता बक्सीले एम्ब्रियो ट्रान्सफर गर्ने काम गर्छिन् । सेवाग्राही खोज्ने काम पनि दिल्लीमा रहेको बक्सीकै एजेन्सीले गर्ने गरेको स्रोत बताउँछ । बक्सी नेपाल एम्ब्रियो ट्रान्सफर गर्न डेढदेखि दुई महिनाको अन्तरमा आउने गर्छिन् ।
ग्रान्डी सिटी क्लिनिकले भने ‘नेपाल सरोगेसी’ भन्ने एजेन्सीमार्फत धन्दा सञ्चालन गरेको हो । नेपाल सरोगेसी भारतीय डाक्टर शहिल गुप्ताले सञ्चालन गरेका हुन् । उक्त एजेन्सीले भारतमा रहेको आफ्नो कार्यालयमार्फत नेपालमा सेवाग्राही ल्याउने काम गर्छ । त्यसपछि काठमाडौँमा भेनस अस्पतालमा रहेको सुमन भेनस आईभीएफ सेन्टरले धन्दा सुरु ग¥यो । सुमन भेनसमा भारतीय एम्ब्रियोलोजिस्ट विष्णुकान्त डिनेले एम्ब्रियो ट्रान्सफर गर्ने गर्छन् ।
सरोगेसीमा प्रशस्तै नाफा हुने देखेपछि अहिले नेपालका अधिकांश अस्पताल सरोगेसी सेवा सुचारु गर्ने तयारीमा छन् । सरोगेट मदरलाई प्रसूति सेवामात्रै दिएको दाबी गर्ने ओम अस्पतालले पनि एम्ब्रियो ट्रान्सफर गर्ने गरेको स्रोत बताउँछ ।
सिनामंगलस्थित नोबेल अस्पतालले गत असार १९ गते आईभीएफ तथा सरोगेसी सेवासम्बन्धी परामर्श शिविर नै आयोजना गरेको थियो । एक दैनिक पत्रिकामा विज्ञापन गरी सरोगेसी सेवा दिइरहेको जानकारी गराउने नोबेल पहिलो अस्पताल हो ।
नेपालमा सरोगेसी गराउन फेमिली सरोगेसी, सरोगेसी नेपाल, सरोगेसी क्लिनिक नेपाललगायत दर्जनौँ एजेन्सी सक्रिय रहेको बुझिएको छ ।
यसैगरी, सरोगेसीका लागि विश्व प्रख्यात एजेन्सी तमुज इन्टरनेसनलले नेपालमा शाखा खोलेको छ । तमुजले न्यू लाइफ नेपाल शाखामार्फत आफ्नो धन्दा सञ्चालन गरेको छ । नेपाल शाखाले नेपालका अस्पतालसँग सम्झौता गरेर सरोगेसी सेवा दिने काम गर्छ । नेपाल शाखाले विभिन्न जिल्लामा दलाल नियुक्त गरी सरोगेट मदर, एग डोनर र स्पर्म डोनर खोज्ने काम गराउँछ ।





0 comments
प्रतिक्रिया दिनुहोस्...