फुटबलमा अचम्मको दृश्यः मैदानमै कट्टु फुस्किएपछि…
एजेन्सी । फुटबलमा कहिलेकाहीँ अचम्मको दृश्य देख्न पाइन्छ । यस्तै रमाइलो दृश्य दुई वर्ष अघिको इंग्लिस क्लबद्वय टोटनह्याम र एस्टर्न भिल्लाबीचको केपिटल एसिया कपमा भयो।
बल खोस्ने क्रममा टोटनह्यामका डिफेन्डर वेटरेनले भिल्लाका स्ट्राइकर निकोलस हेलिनियसको हाफ कट्टु नै पछाडिबाट तानिदिए । वेटरेनले आफ्नो पोस्टमा गोल रोक्ने सबै प्रयास गर्दा भिल्लाका निकोलसको कट्टु तानेका हुन् ।
निकोलसले डिबक्समा दु्रत गतिमा बल अगाडि लगिरहेका थिए । उनको पछाडि थिए वेटरेन । वेटरेनले निकोलसलाई मुस्किलले पछ्याइरहेका थिए ।
लगभग गोल हुने अवस्था सिर्जना हुँदा वेटरेनले निकोलसको जर्सी ताने । निकोलसको स्पिड यति धेरै थियो कि वेटरेनले उनलाई रोक्नै सकेनन् ।
त्यसपछि वेटरेनको हात चिप्लिएर ९ नम्बर लेखिएको निकोलसको हाफ कट्टुमा पुग्यो । वेटरेनले रोक्ने कोसिस गरिरहँदा निकोलसले केही मतलब गरेनन् । उनी अगाडि बढ्दै गए ।
त्यसवेलासम्म उनलाई थाहा नै भएन, हाफ कट्टु त घुँडाभन्दा पनि तल पुगिसकेको थियो । यति हुँदा पनि उनको बलमाथि नियन्त्रण कायमै रह्यो ।
घुँडासम्म हाफ कट्टु आइसक्दा पनि निकोलसले जोडले बल प्रहार गरे । तर, उनको प्रयास विफल भयो । निकोलसले अनियन्त्रित अवस्थामा प्रहार गरेको बल टोटनह्यामको गोलपोस्टभन्दा धेरै माथि गएको थियो ।
त्यसपछि मात्र निकोलसले रेफ्रीसँग वेटरेनको क्रियाकलापप्रति विरोध जनाए । उनले स्पट फ्रिकिकको माग राखे । तर, रेफ्रीले निकोलसको माग अस्वीकार गरे । पछि, निकोलस आफ्नो सेतो अन्डरवेयर हेर्दै हाँसे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...