भक्तपुर, १७ जेठ । नगरकोट नगरपालिका–४ सुडाल बुढाथोकी टोलको बाँसको झ्याङमा एक सातादेखि चार बच्चा लिएर आएको चितुवाले बासस्थान बनाएर बसेपछि यहाँका बासिन्दा आतङ्कित भएका छन् । चितुवा आएपछि साँझ, बिहान घर बाहिर निस्कन समेत नसकिएको र बाहिर काममा जानेहरु समेत घरमा उज्यालामै आउनुपरेको स्थानीय बासिन्दा एवम् सुँडालस्थित महेन्द्रग्राम उमावि व्यवस्थापन समितिका अध्यक्ष राजु सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एक सातादेखि चितुवाले सिङ्गो गाउँका बासिन्दालाई आतङ्कित पारेको छ, विद्यालय आउने जाने बाटोकै बाँसको झ्याङमा चितुवाले बास बनाएर बसेकाले विद्यार्थीलाई विद्यालय आउन समेत समस्या परेको छ ।” चितुवा आतङ्कले विद्यार्थीको पढाइ समेत प्रभावित भएको र खेतमा काम गर्नका लागि जान डर भएको उहाँले बताउनुभयो ।
जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले सुँडाल, सरस्वतीखेत लगायत क्षेत्रमा चितुवा आएको जानकारी पाएको बताउँदै चितुवाले अहिलेसम्म मानिसलाई आक्रमण नगरेको र दिउँसो बस्तीभित्र नपसेकाले समाउन आवश्यक नरहेको जानकारी दिनुभयो । बासस्थान बनाएर बसेको चितुवा केही समयपछि आफैँ जङ्गल फर्कने उहाँको भनाइ छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...