नेपालले दियो भारतीय राजदूतलाई धम्की ?
मन्त्री भन्छन्-सम्बन्ध विगार्ने खेल
काठमाडौं: केपी ओली नेतृत्वको सरकार ढाल्ने प्रयासमा भारतले कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाएको कुरा बाहिर आएपछि अहिले दुई मुलुकबीचको तनाव चुलिँदो अवस्थामा छ ।
सरकार ढाल्ने चलखेलका कारण नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द र भारतका लागि राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयपछि दुई देशबीचको सम्बन्धमा संकट आएको खबर अहिले भुसको आगोझैं फैलिरहेको छ ।
नेपालले ओली सरकार ढाल्ने खेलमा भारतको हात रहेको निचोड निकालेसँगै यहाँस्थित भारतीय राजदूत रञ्जीत रायलाई फिर्ता पठाउने चर्चाले अहिले भारतीय सञ्चारमाध्यम भरिएका छन् ।
भारतका चर्चित इन्डियन एक्सप्रेसदेखि टाइम्स अफ इन्डिया र बेलायतको चर्चित पत्रिका डेली मेलसम्मले दुई देशबीच तनाव चुलिएको भन्दै समाचार प्रकाशित गरिसकेका छन् ।
भारतीय सञ्चारमाध्यमले आइतबार र सोमबार प्रकाशति गरेका समाचारलाई आधार मान्ने हो भने अब नेपालले भारतीय राजदूत रञ्जीत रेमाथि आक्रमणको तयारी गरेको छ ।
काठमाडौंको स्रोतलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यममा छापिएका समाचारमा केपी ओली सरकारले अब भारतीय राजदूत रेमाथि कारबाही चलाउन सक्छ ।
नेपाल सरकारले भारतीय राजदूत रञ्जीत रायलाई पर्सोना नोन ग्राटा अनुसार अयोग्य व्यक्ति घोषित गरी स्वदेश फिर्ता पठाउने तयारी गरिरहेको दाबी गरिएको छ ।
नेपालस्थित परराष्ट्र मन्त्री कमल थापाले स्पष्ट शब्दमा राजदूत रायमाथि कुनै किसिमको कारबाही गर्नेबारे नेपाल सरकारले सोच्दै नसोचेको बताइरहँदा नेपालको उच्च स्रोतलाई उधृत गर्दै समाचार आउने क्रम जारी छ ।
'नेपालस्थित भारतीय राजदूत रायमाथि कुनै किसिमको कारबाही गर्ने योजना र सोच नेपाल सरकारले बनाएको छैन', परराष्ट्र मन्त्री कमल थापाले भनेका छन्, 'सञ्चारमाध्मयममा आइरहेका यस्ता कुरा दुई देशबीचको सम्बन्ध बिगार्ने प्रसासस्वरुप भएको हो ।'
मन्त्री थापाले खण्डन गरिरहँदा भारतकै मूलधारका पत्रिकादेखि टेलिभीजनसम्मले रायमाथि नेपाल सरकारले केही दिनमै कारबाही चलाएर भारत फिर्ता पठाउने तयारी गरिरहेको जनाएका छन् ।
नेपालमा हालैको राजनीतिक गतिविधिबीच नयाँ दिल्लीमाथि केपी शर्मा ओलीको सरकार ढाल्न कोशिश गरेको स्पष्ट आरोप लागेको छ ।
यसका साथै नेपालले काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो आन्तरिक मामिलमा हस्तक्षेप गरिरहेको अर्को आरोप पनि लगाएको छ ।
चार महिना लामो नाकाबन्दीपछि केही सुधार आएको दुई देबीचको सम्बन्धमा पुन: दरार आएको तथ्य गत साता सतहमै आएको थियो ।
नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावित भारत भ्रमण रद्द भएसँगै यी छिमेकीबीच सम्बन्ध चिसिएको दाबी गरिएको छ । सोमबार (आज) नयाँ दिल्ली पुग्ने राष्ट्रपति भण्डारीको भ्रमण कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन नगरेपछि रद्द भएको हो ।
यसैबीच भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय ओली सरकारको निशानामा परे । उनलाई सरकारले फिर्ता नै बोलाइसकेको छ ।
उनीमाथि ओली सरकार ढाल्ने प्रयासमा लागेको, भारतीय राजदूत रायसँग मिलेर मधेसी दललाई उक्साएको र सरकारको राजदूत भन्दा कांग्रेसको दूत भएर भारतमा सक्रिय भएको आरोप लगाइएको थियो ।
उता अहिले नयाँदिल्लीमै रहेका राजदूत उपाध्यायले आफ्नो बन्दोबस्तीका सामान पोको पार्नुअघि नेपाल सरकारको अन्तिम आदेशको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् ।
'एउटा राजदूतकारुपमा मैले सरकारको आदेश पालना गरेको छु । यसका साथै मैले नेपाली जनता र देशको हितमा काम गरेको छु', उनले भनेका छन्, 'मलाई देश फर्केर आउने आदेश नआएसम्म यसबारेमा थप टिप्पणी गर्नु उचित हुन्न ।'


0 comments
प्रतिक्रिया दिनुहोस्...