भुक्तानी दिन आलटाल गर्दै जिविस
डोटी। जिल्ला विकास समिति डोटी अन्तर्गत सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना लागू भएको एक महिना बित्दासमेत उपभोक्ता समितिले खानेपानी सामग्री खरिदका निम्ति पाउनुपर्ने पहिलो किस्ता रकमसमेत पाउन सकेका छैनन् ।
जिल्ला विकास समितिको लापर्बाहीमा सो रकम भुक्तानी हुन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्षले बताएका छन् । जिल्लाका ग्रामीण भेक– चवरा चौतारा, सात्फरी, लानाकेदारेश्वरबाट रकम भुक्तानीका निम्ति आएका समितिका पदाधिकारीलाई जिल्ला विकास समितिले विभिन्न बहानामा अल्झाइ राखेको फेला परेको छ ।
चिफल्ले खोला खानेपानी योजनाका अध्यक्ष चक्रबहादुर कुडमालका अनुसार जिल्ला सदरमुकाम सिलगढीमा समितिका सचिव केशव गडसिला आएको १० दिन हुँदासम्म पनि कहिले कोष तथा लेखा नियन्त्रक कार्यालय र कहिले जिल्ला विकास गरेर अलमलमा पारेको बुझिएको छ ।
सचिव केशवले प्रक्रिया पूरै मिलेर आए तापनि स्थानीय विकास अधिकारी वासुदेव रेग्मीले धेरै उपभोक्ता समितिका अध्यक्षलाई प्रक्रिया मिलेन भन्दै आलटाल गरेको बताउनुभयो । करिब १४ बुँदाको कार्यान्वयन चरणको सम्झौतापत्रमा पाँच पक्षबाट हस्ताक्षर भइसक्दासमेत स्थानीय विकास अधिकारीलाई रकम निकासाका लागि के प्रक्रिया चाहियो हामीलाई थाहा छैन, उहाँले भन्नुभयो ।
योजना कार्यान्वयन चरणको सम्झौतापत्रमा उपभोक्ता समितिबाट अध्यक्ष, सम्बन्धित गाविसबाट सचिव, जिल्ला विकास समितिबाट स्थानीय विकास अधिकारी, जिल्ला प्राविधिक कार्यालयको तर्फबाट प्रमुख जिल्ला इन्जिनियर र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको तर्फबाट जलस्रोत सल्लाहकार रहने गरी हस्ताक्षर भएको भए तापनि स्थानीय विकास अधिकारी रेग्मीले कमिसन खान खोजेको उपभोक्ताले आरोप लगाएका छन् ।
करिब १० दिनभन्दा बढी सदरमुकामका होटेलमा बसेका उपभोक्ता समितिका अध्यक्षले स्थानीय विकास अधिकारीको ज्यादती सहन नसकी मङ्गलबार आक्रोश व्यक्त गरेका थिए ।
जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना लागू भएका गाविसका करिब नौ उपभोक्ता समितिबाट आएका अध्यक्षले स्थानीय विकास अधिकारीलाई प्रक्रिया पुगेका फाइललाई रोक्दा आउने परिणामको विषयमा चेतावनी दिएका छन् ।
चवरा चौतारामा निर्माण हुन लागेका चिफल्ले खानेपानी उपभोक्ता समिति र धोबीघाट खानेपानी उपभोक्ता समितिको सामान खरिद गर्ने सम्झौता भएको धनगढीस्थित चौधरी हार्डवेयर एन्ड सप्लायर्सबाट सामान खरिद गर्न गएका चिफल्ले खानेपानी उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर कुडमाल पैसा नहँुदा सामान खरिदबिनै रित्तै हात फर्किनुपरेको छ ।
चिफल्ले खानेपानी उपभोक्ता समितिलाई चाहिने रु छ लाख १४ हजार ७२९ र धोबीघाट खानेपानी उपभोक्ता समितिलाई चाहिने रु सात लाख ७७ हजारको सामान खरिद गरी लोड भइसक्दासमेत जिविस डोटीले समयमै रकम भुक्तानीको चेकमा हस्ताक्षर नगर्दा आलटाल गरेपछि सामान चौधरी हार्डवेयरले अन्तै पठाएको र आफू पाँच दिनपछि धनगढीबाट रित्तै हात फर्केको चिफल्ले खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुडमालले बताउनुभयो ।
स्थानीय विकास अधिकारी रेग्मीले भने आफूलाई अहिलेसम्म ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सम्झौताको कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उहाँले आफू काम विशेषले काठमाडौँ गएकाले उक्त प्रक्रियाको विषयमा कुनै जानकारी नभएको बताउनुभएको हो । उहाँको अनुपस्थितिमा निमित्त सम्हालेर बसेका चूडामणि जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
जोशीले आफूले सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो । यति मात्रै होइन जिविसबाट प्रवाह गरिने हरेक सेवामा अनियमितता हुने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।
यसभन्दा अगाडि मात्रै जिविसमार्फत सञ्चालित केदार ग्रामीण विकास समाजको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत जिल्ला विकास समिति र केदार ग्रामीण विकास समाजमा कार्यरत कर्मचारीको मिलेमतोमा झोलुङ्गे पुल उपभोक्ता समितिबाट रु ५० हजार देखि एक लाखसम्म कमिसन खाएको आशङ्का गरिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...