ट्यूमरले मुखै बन्द भएकी रेबिकाको उपचार खर्च जुट्दै
खोटाङ– ट्युमर बढ्दा मुखै बन्द भएकी खोटाङको बाँझेच्यानडाँडा–८ की १४ वर्षीया रेबिका राईको उपचारका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ।
हाल काठमाडौं बुढानिलकण्ठ बस्दै आएकी रेबिकाको ट्यूमरको उपचारका लागि शुभेच्छुकबाट उपचार खर्च जुट्ने क्रम जारी छ। बढ्दै गएको ट्युमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेकी रेबिकाको उपचारका लागि बुधबार १० लाख ९ हजार ६ सय ७७ रुपैयाँ प्राप्त भएको छ। शुभेच्छुक श्रवण बम्जनको संयोजनमा देश र बिदेशबाट संकलन भएको ४ लाख ४८ हजार ९ सय ९२ रुपैयाँ बुधबार रेबिकाको बुवा काशीनाथ र आमा सन्ध्या राईलाई हस्तान्तरण गरिएको छ ।
कुबेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्याण्ड, युएई र काठमाडौंबासी नेपालीबाट संकलन गरिएको रकम रेबिका परिवारलाई प्रदान गरिएको बम्जनले बताए। यस्तै, तेज राईको संयोजनमा संकलन भएको १ लाख ११ हजार ११५ रुपैयाँ बुधबार नै राई परिवारलाई प्राप्त भएको छ।
युकेबासी धनकुमार राई, कल्पना राई र भोलाबिक्रम राईको पहलमा संकलन भएको ४ लाख ४९ हजार ५ सय ७० रुपैयाँ रकम रेबिकालाई बुधबार नै प्रदान गरिएको छ। यूकेबाट जम्मा भएको रकम अप्सरा राई र अस्मिता राईले राई परिवारलाई भेटेर प्रदान गरेका हुन्।
मलेसियाबाट समेत केही सहयोग प्राप्त भएको रेबिकाकी बुवा कासीनाथले बताए। रेबिकाको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ। रेबिकाको ट्युमरको उपचार अभावका विषयमा मंगलबार नागरिक दैनिकमा समाचार प्रकाशन भएको थियो। रेबिकाको चौथो पटकको उपचारका लागि बुधबार भारतको कलकत्तातर्फ लगिएको छ।
रेबिकाकोसाथमा आमा सन्ध्या र घरबेटी एलिसा कार्की कलकत्ता गएका छन्। माथिल्लो दाँत अडिने हाड र गिँजाको ट्यूमरले बढेर ठूलो आकार लिएपछि रेबिकाले कष्टपूर्ण दिन बिताइरहेकी छन्। ३ पटकसम्म अप्रेसन गर्दा पनि रेबिकाको ट्यूमर ठीक नभएपछि कलकत्ता लगिएको हो। बुवा कासीनाथ रोजगारीका सिलसिलामा २६ वर्षअघि नै काठमाडौं बस्न थालेका हुन्। काठमाडौं बसाइकैक्रममा बिवाह गरेका उनका दुई छोरी र एक छोरा छन्। रेबीका घरकी कान्छी छोरी हुन्। रेबिका हाल बुढानिलकण्ठ हाइस्कुलमा पढ्दैछिन्। रोगकै कारण उनी यसपल्टको एसएलसि दिनबाट समेत बञ्चित भएकी छन्।
५ वर्षको छँदै रेबिकालाई ट्यूमर भएको पत्ता लागेको हो । नुहाएपछि मावली हजुरमाले शरीरमा तेल घस्नेक्रममा पहिलोपल्ट उनको शरीरमा भएको ट्यूमर फेला परेको हो। फैलिएको ट्यूमरलाई थोरै ठक्कर परेपनि रगत बग्ने समस्य छ।
रेबिकाको पहिलो अप्रेशन ५ वर्षकै उमेरमा गरिएको हो । त्यस यता दुई÷दुई वर्षको फरकमा अप्रेशन गरेर ट्यूमर खुर्केर निकालिएको थियो । अप्रेसन गरेको केही वर्षसम्म रोग निको भएपनि पुःन बल्झिने गरेको छ । दैनिक मजदुरी काम गरेर परिवार धान्दैआएका उनले छोरीको उपचारमा हालसम्म १६ लाखभन्दा बढी रकम खर्च गरिसकेका छन्। काठमाडौं बसाइकाक्रममा सेक्यूरिटी गार्ड, ज्यामी लगायतका काम गरेर जोगाएको पैसा उपचारमै सकिएको छ। त्यसले नपुगेर ऋणको भारसमेत थपिएको छ।
अस्पतालमा लाग्ने रकम बुझाउन आफ्नो आर्थिकस्तरले नभ्याउने भएकाले राई परिवारले शुभेच्छुक समक्ष सहयोगको याचना गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...