-->
नेपाल, भारत र चीनको सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु

६ जेठ, काठमाडौं । नेपाल-भारत-चीन सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको लागि नयाँ विकास रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सियाम), इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीले संयुक्तरुपमा सम्मेलन आयोजना गरेका हुन् ।

सम्मेलन उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले नेपाल विश्वको द्रूतरुपमा विकास गरिरहेका मुलुकहरुको बिचमा रहेको हुँदा चीन र भारतले हासिल गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए ।

उनले भने, ‘नेपालका लागि विगतलाई समीक्षा गरेर वर्तमानलाई बुझ्दै मुलुकको विकासका लागि उपयुक्त रणनीतिक मार्ग निर्धारण गर्ने यो महत्वपूर्ण समय हो ।’

साउथ एसियन इन्सटिच्युट अफ म्यानेजमेन्टका अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चीन र भारत दुबै मुलुक नेपालका शुभेच्छुक हुन् भन्दै खुला सीमाना, सांस्कृतिक एवम् धार्मिक सम्बन्धका कारण भारतसँग नेपालको अधिक सम्पर्क एवम् अन्तरक्रिया हुने गरेको बताए ।

सियामका डीन डा. विजय केसी, इन्सटिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक डा. विष्णुदत्त पन्त र सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक मिङ जियाङले भारत र चीनबीचको रणनीतिक उपस्थिति तीनवटै मुलुकको समृद्धिमा केन्दि्रत हुनुपर्ने बताए ।

सम्मेलनमा नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका प्राध्यापक मिङ जियाङ, नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुद, सिचूआन युनिभर्सिटीका प्राध्यापक ली ताओ, नेपाल विश्लेषक महेन्द्र पी लामा, पूर्व अर्थमन्त्री मधुकर शम्शेर जवरा, जलस्रोत क्षेत्रका जानकार दीपक ज्ञवाली, पूर्व अर्थ सचिव रामेश्वर खनालसहितका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.