काठमाडौं, जेठ १४ – नेपालको रेल्वे निर्माणका लागि भारतबाट गिट्टी ल्याउने तयारी भइरहेको छ । भारतीय सीमा क्षेत्र इनरुवादेखि महोत्तरीको भंगाहसम्मका रेल्वे निर्माणका लागि भारतबाट गिट्टी ल्याउन लागिएको हो ।
सधंै नेपालको चुरे पर्वत फोडेर निकालिएको गिट्टी, बालुवा भारत निकासी हुने गरेको आम नेपालीले सुन्दै आएका छन् । यस बारेमा पटक पटक विरोध पनि उठ्दै आएको छ । अहिले पनि मध्यरातमा र कहिले दिउँसै प्रशासनको आँखा अगाडिबाटै गिट्टी, बालुवा भारत निकासी हुने गरेको छ ।
तर अहिले त्यसो नभएर नेपालमा बन्न लागेको रेल्वे निर्माणका लागि आवश्यक पर्ने गिट्टी नेपालको भन्दा भारतको गुणस्तरयुक्त भएकाले त्यहाँबाट ल्याउन लागिएको रेल्वे निर्माणको ठेक्का लिएको एक कम्पनी कालिका रमण कन्ट्रक्शनले जनाएको छ । ‘नेपालको क्रसरबाट फुटाएर बनाएको गिट्टीमा भन्दा बढी स्ट्रेन्थ भारतीय गिट्टीमा पाइयो । त्यस्तो देखिएपछि भारतबाट गिट्टी ल्याउन लागिएको हो’ कालिका रमण कन्ट्रक्शनका प्रबन्ध निर्देशक बलराम महतोले भन्नुभयो ।
अहिले भारतको जयनगर हुँदै जनकपुर र बर्दिबास जोड्ने रेल्वे निर्माणको काम तीव्र गतिमा काम भइरहेको छ । भारत सरकारको पूर्ण सहयोगमा यो रेल्वेको काम भइरहेको हो । यो काम दुईवटा कम्पनीले गरिरहेका छन् । जसमा एउटा कम्पनी भारतको नायक इन्फास्ट्रक्चरले गरेको छ । नायकले महुवा कपिलेश्वरदेखि भारतीय सीमावर्ती इनरुवासम्मको २७ किलोमिटरको निर्माण कार्य गरिरहेको छ ।
त्यस्तै महुवा कपिलेश्वरदेखि भंगहासम्मको २२ किलोमिटरको काम नेपाली कम्पनी कालिका रमणले गरेको छ । यो काम आउँदो डिसेम्बरसम्ममा सक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण ६ महिनापछि मात्र काम सक्ने रमणका प्रबन्ध निर्देशक महतोले बताउनुभयो । त्यसैले अर्को वर्षको आर्थिक वर्षमा काम सक्ने लक्ष्य आफूले लिएको कालिका रमणले जनाएको छ ।
रेल्वेको काम छिटो सक्न भारतको दबाव
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपाल–चीन रेल्वे सेवा, बैंकिङ सेवा, नेपालमा तेल उत्खनन्लगायतका महत्वपूर्ण सम्झौता भएका थिए । यसबाट भारत झस्किएको पनि थियो । चीनबाट रेल र तेल आउने भएपछि भारतले नेपाललाई गर्दै आएको सहयोगमा पनि धक्का लाग्ने आँकलन गरिएको थियो ।
भारतले नेपालमा बनाउन लागेको रेल्वे निर्माण प्रक्रियामा पनि असर पर्ने आशंका गरिएपनि त्यस्तो भने भएको छैन । ‘भारतले अहिले हामीलाई छिटो काम सक्न भनिरहेको छ । तर नेपालको तर्फबाट रेल्वे निर्माणका लागि खाली गर्नुपर्ने जग्गामा खासै वास्ता गरिएको देखिंदैन । भारत भने समयमै काम सक्न आतुर छ’ रमणका प्रबन्ध निर्देशक महतोले भन्नुभयो ।
कति भयो रेल्वे निर्माणको काम
नेपाल सरकार रेल्वे कम्पनी लिमिटेडका इन्जिनियर तथा साइड प्रमुख विनोदकुमार ओझाका अनुसार काम तीव्र रुपमा गतिमा भइरहेको छ । काममा कहिलेकाहीँ साना अवरोध आउनु बाहेक त्यस्तो कुनै अवरोध आएको छैन ।
‘काममा कुनै अवरोध आयो भने हामीले तत्काल समाधान गर्ने गरेका छौं’ उहाँले भन्नुभयो, ‘मुआब्जाको काम पनि सकिसकेको छ । यहाँ नहुनेहरुको मुआब्जा बाँड्न बाँकी छ । उहाँहरु आएर कागजात पेश गर्ने बित्तिकै हामी उहाँहरुलाई पनि मुआब्जा दिन्छौं ।’ मुआब्जाको काम ९७ प्रतिशत सकिसकेको उहाँको भनाई छ ।
नेपाली कम्पनी कालिका रमण कन्ट्रक्शनले जिम्मा लिएको महुवा कपिलेश्वरदेखि भंगहासम्मको २२ किलोमिटरको काम बिना अवरोध धमाधम अगाडि बढिरहेको छ । रेल्वेको लिक, ट्रयाक र माटो पुर्ने काम, ब्याङकेटिङ, पुलपुलेसा र कल्भर्टको काम लगभग सकिसकेको छ । २२ किलोमिटरमा रमणले ४८ वटा कल्भर्ट हाल्नु पर्ने हुन्छ । जसमा ३५ वटा कल्भर्ट हालिसकेको छ ।
त्यस्तै कालिका रमणले ४ वटा पुल बनाउनु पर्ने हुन्छ । जसमा भारतबाट दुई वटा पुलका नक्सा पास भएर आइसकेको छभने दुईवटा पुलको नक्सा पासको काम भइरहेको छ । नक्सा पास भएका दुईवटा पुलमा अहिले एउटाको काम धमाधम भइरहेको प्रबन्ध निर्देशक महतोले बताउनुभयो । कालिका रमणको तर्फबाट दिनहुँ एक सय ५० भन्दा बढी कामदारले काम गरिरहेका छन् ।
त्यति नै मात्रमा मेशिनबाट पनि काम भइरेहको नेपाल सरकार रेल्वे कम्पनी लिमिटेडका इन्जिनियर तथा साइड प्रमुख ओझाले बताउनुभयो । भारतीय कम्पनी नायक इन्फास्ट्रक्चरले ६५ प्रतिशत काम गरिसकेको बताएको छ भने नेपाली कम्पनी कालिका रमणले पनि ६० प्रतिशत काम सकेको बताएको छ ।
नायक इन्फ्राइस्टक्चरले कामको जिम्मा लिएको कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको काम लगभग अन्तिम चणमा पुगिसकेको छ । नायकले लिक निर्माण, ट्रयाक हटाएर माटो पुर्ने काम, व्याङकेटिङ, कल्भर्ट निर्माणको काम लगभग पूरा गरिसकेको छ भने अब ब्रोडगेज ओच्छ्याउने काम पनि सकिन लागेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...