जीवनभर निःशुल्क डायलासिस
काठमाडौं: सरकारले मिर्गौलाका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने निर्णय गरेको छ । सरकारले यसअघि सातामा दुईपटकका दरले दुई वर्षसम्म डायलासिस सेवा निःशुल्क दिँदै आएको थियो । अब मिर्गौला रोगीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने निर्णय मन्त्रिपरिषद्ले बिहीबार गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बताए ।
छोटो समयको निःशुल्क सेवाले आफूहरूलाई बाँच्न कठिन भएको र पैसा अभावमा प्रत्यारोपण पनि गर्न नसकिएको भन्दै बिरामी लामो समयदेखि संघर्षमा थिए । सरकारले यसअघि डायलासिस सेवामा एउटा बिरामीका लागि दुई वर्षसम्म बर्सेनि पाँच लाख २० हजार रुपैयाँ खर्च गर्दै आएको थियो । सातामा दुईपटक भन्दा बढी डायलासिस गर्नुपर्ने बिरामीले आफैं पैसा तिनुपर्ने बाध्यता थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी निर्णयअनुसार कार्यविधि बनाएर सम्बन्धित अस्पताल र स्वास्थ्य संस्थामा पठाएपछि निःशुल्क डायलासिस सेवा लागू हुने बताए । सातामा दुईपटकमात्र निःशुल्क डायलासिस सेवा दिने हो वा जति आवश्यक पर्छ त्यति नै दिने भन्ने पनि कार्यविधिले टुंगो लगाउने उनले बताए । एकपटक डायलासिस सेवाबापत निजी अस्पतालले पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । सरकारी स्वास्थ्य संस्थाले दुई हजार ५ सय रुपैयाँसम्म उक्त सेवा प्रदान गर्छन् ।
अस्वस्थकर खानपान र जीवनशैली, अनावश्यक अत्यधिक औषधि सेवन, शारीरिक अभ्यासको कमीलगायत कारण नेपालमा २६ लाख मानिस मिर्गौलाको कुनै न कुनै समस्याबाट ग्रसित छन् । त्यसमध्ये दुई लाख ६० हजार मानिसको मिर्गौलामा गम्भीर समस्या छ । तीमध्ये पनि वर्षमा २६ हजार मानिसको मिर्गौला काम नगर्ने अवस्थामा पुग्छ । त्यसमध्ये आर्थिक अवस्था कमजोर भएका करिब ३ हजार मिर्गौलारोगी जीवन बचाउन डायलासिसका लागि भौंतारिने गरेका छन् । मिर्गौला फेल भएका अधिकांशले डायलासिस र प्रत्यारोपणको पहुँचमा पुग्न नसक्दा ज्यान गुमाउने गरेका छन् ।
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा मात्रै दैनिक एक सय २० जनासम्म मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् । शिक्षण, पाटन, वीरलगायत सरकारी अस्पतालमा डायलासिस गराउनेको चाप निकै छ ।
मानवअंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डायलासिस सेवा निःशुल्क गर्ने सरकारी निर्णय आफैंमा राम्रो भएको तर यसले प्रत्यारोपण सेवालाई प्रोत्साहन नगर्ने हो कि भन्ने शंका व्यक्त गरे । ‘सरकारले डायलासिस सेवा निःशुल्क गर्दा बिरामीलाई तत्कालका लागि ठूलो राहत मिल्नेमा कुनै द्विविधा छैन । तर जीवनभर स्वस्थ भएर बाँच्न प्रत्यारोपण नै आवश्यक पर्छ', उनले भने, ‘त्यसैले प्रत्यारोपणको सेवामा पनि सरकारले प्रोत्साहन गर्नुपर्छ । प्रत्यारोपणले उत्पादनशील जीवन बाँच्न सहयोग गर्छ ।'
राष्ट्रिय मिर्गौला रोग केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले डालयासिस निःशुल्क गर्ने सरकारको निर्णय ऐतिहासिक भएको बताए । डा. काफ्लेले डायलासिस गर्नुपर्ने ८० प्रतिशत बिरामी विपन्न रहेको बताए । यी बिरामीले सरकारी निर्णयलाई ठूलो उपलब्धि मानेका छन् । डा. काफ्लेले पनि मिर्गौला रोगीलाई बचाउने र स्वस्थ बनाउने दीर्घकालीन उपाय भने डायलासिस नभई प्रत्यारोपण भएको बताए । ‘अब बिरामीले डायलासिस गर्ने पैसा बचाउनेछन्', उनले भने, ‘सरकारले प्रत्यारोपणपछि खाने औषधि पनि निःशुल्क गरिदियो भने बिरामीले सहज रूपमा मिर्गौला फेर्न पाउनेछ र जीवनभर डायलासिसका लागि झन्झट मिल्नेछैन ।'
बिरामी हर्षित
डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णयलगत्तै भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा पुग्दा डायलासिस गराइरहेका बिरामीका आँखामा खुसी देखिन्थ्यो । डायलासिस गराइरहेकी ओखलढुंगा बर्नालुकी पोकलकुमारीले डायलासिस गर्दा अब पैसा लाग्दैन भन्ने सुनेर निकै खुसी लागेको बताइन् ।
‘सकेसम्म प्रत्यारोपण गर्न पाए हुन्थ्यो भन्ने लागिराखेको थियो । डायलासिस गर्न पनि गाह्रो भइरहेका बेला त्यो त सपनाजस्तै भएको थियो', उपचार गर्न भूकम्पपीडित आफन्तसँग पालमा बसिरहेकी उनले भनिन्, ‘अब डायलासिसमा जीवनभर पैसा नलाग्ने भन्ने सुन्दा अझै संसार देख्न पाइन्छ कि भन्ने लागिरहेको छ ।' पत्नीको डायलासिसका लागि केन्द्रमा आइपुगेका नवलपरासी सुनवलका निर्मल परियार पनि सरकारले डायलासिस निःशुल्क गर्ने निर्णय गरेपछि खुसी छन् । सरकारले निर्णय गरे पनि आफूहरूले निःशुल्क सेवा नपाउने हो कि भन्ने डर भने उनको मनमा छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...