-->
सुरक्षित उडानका लागि घोरेपानीमा अत्याधुनिक 'वेदर स्टेसन' स्थापना

म्याग्दी: म्याग्दीको घार गाविस-१ घोरेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित 'वेदर स्टेसन' स्थापना भएको छ।
समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोरेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएको छ।
तारा एयर प्रालिले पोखरा-जोमसोम हवाईमार्गमा पर्ने घोरेपानी क्षेत्रको मौसमी अवस्थाको बारेमा जानकारी प्राप्त गर्न दुई हप्ताअघि वेदर स्टेसन स्थापना गरेको हो।सो प्रविधिमार्फत पोखरा, जोमसोम, काठमाडौँमा बसेरै घोरेपानी क्षेत्रको मौसमको अवस्था अवलोकन गर्न सकिने तारा एयरका प्रबन्धक भीमराज राईले बताए।
उनका अनुसार पोखरा-जोमसोम हवाई यात्रालाई सुरक्षित बनाउन तथा उडानका लागि सावधानी अपनाउन जापानको 'वेदर न्युज' संस्थाको सहयोगमा प्रविधि जडान गरिएको हो।'पोखरा-जोमसोम उडानका लागि घोरेपानी क्षेत्रको आकाशमा मौसमको अवस्था कस्तो छ भनेर जानकारी लिन प्रविधिले सहयोग गरेको छ', राईले भने, 'त्यहाँको मौसमको बारेमा बुझेर मात्र उडान गर्न थालिएको छ।'
कुहिरो लागेको, पानी परेको, आकाश खुले नखुलेको बारेमा तत्कालै सूचना पाउन सकिन्छ।घरको छतमा जडान भएको स्वचालित वेभ क्यामेराले खिचेका दृष्य प्रत्यक्ष देखिन्छ।पोखरा-जोमसोम हवाई यात्राका क्रममा म्याग्दीको घोरेपानीदेखि मुस्ताङको सिमानासम्मको मौसमको अवस्थाका बारेमा पूर्व जानकारी नहुँदा उडान भर्न समस्या हुने गरेको थियो।
त्यस क्षेत्रको आकाशको मौसम छिटोछिटो परिवर्तन हुने गर्छ।चौबीसै घन्टा उपकरण चालु रहने व्यवस्था मिलाइएको घोरेपानीका बासिन्दा जुनबहादुर पुनले बताए।जोमसोम र पोखरा विमानस्थलको टावरसँग सम्पर्क नहुने भएकाले १५ मिनेटको उडानमा जहाज घोरेपानीदेखि मुस्ताङको लेतेमाथिको आकाशमा नपुग्दासम्म पाँच मिनेट सम्र्पकविहीन हुने गर्छन्।
२०७२ फागुन १२ गते पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान म्याग्दीको दाना गाविस-२ सोलीघोप्टेमा दुर्घटना भएको थियो।म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामाथिको आकाशमा कुहिरो लागेको अवस्थामा पोखराबाट उडेको जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.