४५ दिन होइन अब १० दिनमा चीनबाट सामान आउँछः ओली
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकरले चाँडै काठमाडौं–केरुङ रेलमार्ग निर्माण गर्ने बताएका छन् । युवा संघ नेपालको २६ औँ स्थापना दिवसको कार्यक्रम सुभारम्भ गर्दै ओलीले भने, ‘४५ दिनमा काठमाडौँ आइपुग्ने सामान १० दिनमा आइपुग्ने गरी काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउनेछ ।’
उनले ई–गभर्नेन्स र डिजिटल नेपाल निर्माण गर्ने पनि उद्घोष गरे । ‘पूर्व–पश्चिम राजमार्ग चौडा बनाउँछौँ, मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई तीव्रताका साथ कालोपत्रे गर्छौँ’, प्रम ओलीले भने, ‘कागज विस्थापन गरी कम्प्युटरबाटै कार्य सञ्चालन गर्ने गरी ई–गभर्नेन्स र डिजिटल नेपाल निर्माण गर्नेछौँ ।’ सामन्तवादलाई समाप्त गरे पनि त्यसका आर्थिक र सामाजिक अवशेषलाई समाप्त गर्न बाँकी रहेको उल्लेख गर्दै ओलीले पूर्वाधार विकास र आर्थिक उन्नतिलाई केन्द्रविन्दुमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको तर्क गरे ।
प्रम ओलीले तराई केन्द्रित दललाई केन्द्रित गर्दै जायज र उचित माग पूरा हुने बताए । ‘जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न’, ओलीले भने ।
प्राविधिकले गरेको अध्ययनबाट देशका ८० गाविसमा सडक पु¥याउन नसकिने देखिए पनि अन्य सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
कार्यक्रममा संघका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलकुमारी पन्त र महासचिव किरण पौडेलले युवाको शक्तिलाई राष्ट्र निर्माणमा लगाउने सोच एवम् कार्यक्रमका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...