संविधान पुनर्लेखन हुने भए वार्तामा बस्छौँ : यादव
काठमाडौं, जेठ १५ – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखनको प्रतिबद्धता जनाए आफूहरु वार्तामा बस्ने बताउनुभएको छ ।
संघीय गठबन्धनले शनिबार काठमाडौंको बसन्तुपरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले संविधान पुनर्लेखनको लागि सरकारबाट ठोस प्रतिबद्धता आए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभएको छ ।
‘हामीले पनि वार्ताबाटै निकास चाहेका हौं, तर विश्वासको उचित वातावरण बन्नु पर्यो’ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले भन्नुभयो, ‘नश्लवादी संविधान स्वीकार छैन ।’ संविधानका विभेदकारी प्रावधान हटाउन राजी नहुने हो भने तेस्रो जन आन्दोलनको सामना गर्न तयार भएर बस्न सरकारलाई उहाँले चेतावनी दिनुभयो ।
उहाँले गणतन्त्रको नाममा लूट मच्चाउँदै छोटे राजाहरुले देश बिगारेको टिप्पणी गर्नुभएको छ । तर, सत्ता र शक्तिको दुरुपयोग गर्दै गणतन्त्र, संघीयता र समावेशी विरुद्ध हुने कुनै पनि हर्कत आफूहरुलाई सह्य नहुने उहाँले बताउनुभयो । उहाँले गठबन्धनले विगत १५ दिनदेखि शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेको भन्दै यसलाई नागरिकले बुझ्नुपर्ने बताउनुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...