-->
सङ्घीय गठबन्धनले बालुवाटार घेराउ गर्ने

काठमाडौँ, जेठ ४ गते ।  सङ्घीय गठबन्धनले मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ ।  दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले थप दबाबका लागि बालुवाटार घेराउको कार्यक्रम राखिएको बताएको छ ।  
सिंहदरबार घेराउ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमानस्थानमा दुई दिन धर्ना बसेको गठबन्धनले मङ्गलबार १० बजेदेखि बालुवाटार घेराउ गर्ने निर्णय भएको गठनबन्धनका संयोजक उपेन्द्र यादवले बताउनुभयो ।  गठबन्धनमा अहिले २९ दल सहभागी छन् ।  सबै दललाई मङ्गलबार बालुवाटार सहभागी हुन उर्दी गरिएको गठबन्धनले जनाएको छ ।  
“गठबन्धनको मागलाई सम्बोधनमा थप दबाब पुगोस् भनेर प्रधानमन्त्रीको सरकारी निवास घेर्ने तयारी गरेका हौँ,” संयोजक यादवले बताउनुभयो ।  
आइतबारको सिंहदरबार घेराउ कार्यक्रम शान्तिपूर्ण रहे पनि सोमबार माइतीघर मण्डलामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ ।  भीडमा लुकेर तीन जना भिजलान्तेले ढुङ्गामुढा प्रहार गरेपछि स्थिति सामान्य बिग्रिएको आन्दोलनमा सरिक थरुहट तराई पार्टी नेपालका सचिव मीनराज चौधरीले बताउनुभयो ।  
सामान्य झडपका क्रममा तीन जना प्रदर्शनकारी घाइते भएको चौधरीले जानकारी दिनुभयो ।  तीन जना भिजलान्तेमध्ये दुई जना भाग्न सफल भएको र एक जनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।  
प्रदर्शनकारीले निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।  प्रहरीको लाठी प्रहारले तीन जना घाइते भएका छन् ।  गठबन्धन दलले सोमबार विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले बल प्रयोग गरेको भन्दै भत्र्सना गरेको छ ।  आक्रोशित प्रदर्शनकारीलाई नेताले संयमित पारेपछि भीड नियन्त्रणमा आएको थियो ।  
दुई दिनको सिंहदरबार घेराउ र धर्ना कार्यक्रमले त्यस क्षेत्रमा यातायात सञ्चालन हुन नसक्दा त्यहाँको अवस्था नराम्रोसँग प्रभावित भएको थियो ।  आन्दोलनकारीले कार्यक्रमलाई जारी राख्ने बताएका छन् तर सरकारले धेरै दिन अस्तव्यस्त समस्यालाई हेरेर बस्न नसक्ने चेतावनी दिँदै आएको छ ।  
यसैगरी, सिंहदरबार घेराउ गर्न आएका सङ्घीय गठबन्धनलगायत विभिन्न दलका कार्यकर्ताका  साथबाट प्रहरीले ३५ थान लाठी बरामद गरेको छ ।  
प्रहरीले शन्तिपूर्ण घेराउका नाममा लाठी देखाएर त्रास फैलाउन खोजेको भन्दै थापाथलीचोकमा लुकाइराखेको अवस्थामा ती लाठी बरामद गरेको प्रहरीले जनाएको छ ।  
महानगरीय प्रहरी प्रवक्ता शरद चन्दले प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रदर्शनकारी घाइते भएको जानकारी दिनुभयो ।  
त्यस्तै, पोक सेक्युरिटी गार्डको डे«समा आएका नुवाकोट तारुका–८ घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय अनिल ढुङ्गानाले प्रदर्शनकारीको बीचबाट प्रहरीलाई ढुङ्गा प्रहार गरेपछि प्रदर्शनकारीको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीका अनुसार शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनकारीले ढुङ्गानालाई नियन्त्रणमा लिई कुटपिटसमेत 
गरेका थिए ।  
त्यस्तै, प्रदर्शनकारीले घुसपैठको आरोपमा त्रिचन्द्र कलेजमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत प्रकाश अधिकारी र अर्घाखाँची पाली–८ का २३ वर्षीय रामप्रसाद पौडेलमाथि हातपात गरेका छन् ।  उनीहरूको आँखामा सामान्य चोट लागेको छ ।  


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.