कोपा अमेरिका : शानदार जितसँगै अर्जेन्टिना क्वाटरफाइनलमा, मेस्सीको ह्याट्रिक
जेड २९ – अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सिकागोमा भएको खेलमा पानामालाई ५–० ले हराउँदै अर्जेन्टिनाले एक खेल अघि नै अन्तिम ८ मा स्थान बनाएको हो ।

समूह डीमा रहेको अर्जेन्टिनाले पहिलो खेलमा चिलीलाई २–१ ले हराएको थियो । पानामामाथिको शानदार जितमा लियोनल मेस्सी नायक बने ।

उनले ह्याट्रिक गरे भने निकोलास ओटिमेनडी र सर्जियो अग्युरोले एक एक गोल गरे । सातौँ मिनेटमा नै ओटिमेनडीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाका लागि मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गोल गर्दै ४–० को अग्रता दिलाए । दोस्रो हाफमा मात्रै खेलका मेस्सीले १९ मिनेट भित्रमा ह्याट्रिक पूरा गरे । ९० औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना ५–० ले विजयी भयो ।

लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । पहिलो खेलमा बोलिभियालाई हराएको पानामा र दोस्रो खेलमा बोलिभियालाई हराएको चिली मध्ये एक टिम समूह डी बाट क्वाटरफाइनलमा पुग्ने छ ।

यी दुईबिच आउँदो बुधबार समूहको अन्तिम प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेता अन्तिम ८ मा पुग्ने छ । लगातार दुई खेल हारेको बोलिभिया भने समूह चरणबाटै बाहिरिएको छ । बोलिभियाले अब समूहको अन्तिम खेलमा आउँदो बुधबार अर्जेन्टिनासँग खेल्नेछ ।




0 comments
प्रतिक्रिया दिनुहोस्...