-->
सिके राउतलाई फकाउँदै बाबुराम

काठमाडौं: तराईलाई नेपालबाट टुक्र्याउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई नजिक्याउने कसरतमा बाबुराम भट्टराई लागेका छन्। 
 
दशरथ रंगशालामा आइतबार पार्टी घोषणा गर्ने तयारीमा रहेका भट्टराई आफ्ना निकट सहयोगीमार्फत राउतलाई नजिक्याउने कसरतमा लागेका हुन्। यसका लागि नयाँ शक्तिका नेता एवं पूर्वसभासद् रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएको दाबी स्रोतको छ।
 
राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन्। ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन्। भट्टराईले आफू संवैधानिक समितिको सभापति रहेका बेला सीके राउतलाई नेपालबाट तराई टुक्र्याउन जनमतसंग्रहको व्यवस्था राख्न पाउनुपर्ने अभिव्यक्ति रेकर्ड गराएका थिए।
 
राउतलाई स्थापित गर्न भट्टराईको ठूलो हात रहेको मानिन्छ। भट्टराई प्रधानमन्त्री छँदा राउत अमेरिकाबाट नेपाल आई रातारात मधेसको राजनीतिमा प्रवेश गरेका हुन्।भट्टराईले देश टुक्र्याउने अभियानमा लागेका सीके राउतसँग आफ्ना विश्वासपात्रमार्फत कुराकानी गर्नुको उद्देश्य भने स्पष्ट हुनसकेको छैन। 
 
यसबारेमा जिज्ञासा राख्दा नयाँ शक्तिका एक नेताले आफ्नो पार्टी घोषणामा राउतलाई पनि आमन्त्रित गरिएको बताए।बुधबार बबरमहलमा भट्टराई निकट नेता रामकुमार शर्मा र राउतबीच वार्ता भएको थियो। नेता शर्माले भने, ‘मैले राउतलाई भेटेको उनलाई रिहा गराउने कानुनी प्रक्रियामा सहयोग गर्नमात्र हो, नयाँ शक्तिमा ल्याउन होइन।'
 
विशेष अदालतले बुधबार ४५ हजार धरौटीमा राउतलाई रिहा गरेको थियो। विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, भूपेन्द्र राई र प्रभा बस्नेतको संयुक्त इजलासले सीके राउतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
 
सीके राउतविरुद्ध राज्यविप्लवविरुद्ध एक दर्जन मुद्दा चलिरहेका छन्। राउतलाई राज्यले समाउने र न्यायपालिकाले समान्य धरौटीमा रिहा गर्ने कार्य भइरहेको छ।
 
संविधान संशोधनको विकल्प छैन: भट्टराई
 
खुलामञ्चमा रिले अनशन बसेका संघीय गठबन्धनका नेतासँग ऐक्यबद्धता जनाउन बिहीबार त्यहाँ पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकलाई निकास दिन संविधान संशोधनको विकल्प नरहेको बताएका छन्।
 
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राज्य सञ्चालन नीतिले मुलुकलाई अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बनाउन लागेको आरोप लगाए। उनले भने, ‘सीमांकनमा हेरफेर गर्न सरकार तयार हुनैपर्छ।'
 
रिले अनशनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पहिचानका आधारमा प्रदेश बनाउनुपर्ने गठबन्धको मागका सम्बन्धमा सरकार गम्भीर भई वार्ता र सहकार्यमा अघि बढ्नुपर्ने धारणा राखे।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.