-->
माओवादी केन्द्रीय समिति सदस्य हजार ९९

काठमाडौँः नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति माओवादी नेताले नै सोचेभन्दा पनि ठूलो बन्ने भएको छ । विभिन्न दस घटक माओवादीको एकतापछि पार्टी भित्र सन्तुलन मिलाउन जम्बो केन्द्रीय समिति बन्न लागेको माओवादी नेताहरुले बताएका छन् ।

यस अघि छ सय ९९ सदस्यीय केन्द्रीय समिति बन्ने चर्चा चलेको भए पनि माओवादी केन्द्रमा असन्तुलन बढ्दै गएपछि केन्द्रीय समिति सदस्यको संख्या करिब ११ सय पुग्ने भएको हो ।

तत्कालका लागि नौ सय ९९ केन्द्रीय सदस्य रहने छन् भने अन्य एक सय सदस्य पछि थपिने छन् । माओवादी केन्द्रीय समिति पूर्ण हुँदा सदस्य संख्या एक हजार ९९ पुग्ने छ ।  
अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै माओवादी नेता हिमाल शर्माले भने, ‘सन्तुलन मिलाउनने क्रममा केन्द्रीय समिति ठूलो बन्ने भएको छ ।’

माओवादी नेताहरुले यो केन्द्रीय समितिको जम्बो टोलीलाई महाधिवेशन आयोजक समितिमात्र बनाएर महाधिवेशनपछि सानो संख्याको केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

शर्माले भने, ‘यो ठूलो केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति मानेर छिटोभन्दा छिटो घटाउनुपर्छ भन्ने विषयमा छलफल भइराखेको छ ।’

माओवादीले जम्बो केन्द्रीय समिति बनाएसँगै दुई सय ५५ सदस्य रहेको पोलिटब्यूरो बन्ने छ भने ८५ सदस्यीय स्थायी समिति बन्ने छ ।

माओवादीले पार्टी संगठनको संरचना र विधिबारे ढुंगो लगाउ वर्षमान पुन ‘अनन्त’ नेतृत्वमा बनेको समितिको सुझाव भन्दा चार सय बढी केन्द्रीय सदस्य थप हुने भएका छन् ।

केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समिति सदस्यको संख्या टुंगो लगाउन माओवादीको पोलिटब्युरो बैठक राजधानीको बत्तीसपुतलिस्थित अनुपम पार्टी प्यालेसमा चलिरहेको छ ।

एकीकृत माओवादीसँग एकतामा आएका रामबहादुर थापा ‘बादल’, मातृका यादव, मणि थापा, तिलक परियार लगायतको समूहलाई चित्त बुझाएर अगाडि बढ्ने क्रममा माओवादी केन्द्रीय समिति एतिहासिक बन्न लागेको हो ।


  


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.