-->
संघीय गठबन्धनको रिले अनसन सुरु

विभिन्न चरण र प्रकृतिका आन्दोलनपछि पनि सरकारले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै संघीय गठवन्धनले रिले अनसनको कार्यक्रम थालेको नेताहरुले बताएका छन्।

संविधानको मस्यौदा बने देखि नै असन्तुष्ट रहेको गठवन्धनमा सहभागी दलहरु र सरकारबीच पछिल्ला दिनमा वार्ता समेत हुन सकेको छैन।

तराई लगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनको सुनुवाई नभएको भन्दै जेठको पहिलो हप्तादेखि राजधानी केन्द्रित आन्दोलन थालेको संघीय गठवन्धनले यसअघि दुई चरणको आन्दोलन गरि सकेको छ।

आन्दोलन

सिंहदरवार र प्रधानमन्त्री निवासमा घेराउ कार्यक्रमका साथै राजधानीकै विभिन्न स्थान र देशका केही प्रमुख सहरमा सभाहरु गरेको गठबन्धनले मंगलबारदेखि तेस्रो चरणको आन्दोलन सुरु गरेको हो।

अनसन स्थल काठमाण्डूको खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय आन्दोलन परिचालन समितिका संयोजक उपेन्द्र यादवले भने, "समस्याको समाधान नगरि यो मुलुक अगाढी बढन सक्दैन, जहिलेसम्म समस्याहरु हल हुँदैनन् त्यो दिनसम्म हामीहरु संघर्ष गरि रहन्छौं।"

बिहान सात बजेदेखि साँझ सात बजेसम्म गरिने अनसनको कार्यक्रम असार मसान्तसम्म जारी रहने बताइएको छ।

वार्ता

दोस्रो चरणको आन्दोलन सकिएयता वार्ताका लागि आफूहरुले राखेका सर्तहरुलाई सम्वोधन गरेर सरकारले जवाफ पठाउने आशा गरेको गठबन्धनले सरकारबाट त्यस्तो कुनै पहल नगरेको आरोप लगाएको छ।

संयोजक यादवले भने, "विगतमा भएको वार्ता सरकारले भङग गरेदेखि हालसम्म भ्रम फैलाउने काम बाहेक केही गरेको छैन्, अनौपचारिक कुराकानी समेत भएको छैंन।"

हाल चर्चामा रहेको सहमतिको सरकारप्रति आफ्नो कुनै चासो नभएको गठबन्धनका नेताहरुको भनाइ छ।

प्रधानमन्त्री परिवर्तन हुने कुरा भन्दा तराई लगायत विभिन्न क्षेत्रमा रहेका संविधानप्रतिका असन्तुष्टीलाई सम्बोधन गर्न दलहरुले कस्तो योजना ल्याउछन् भन्ने विषयले महत्व राख्ने उनीहरुको भनाइ छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.