-->
पृथ्वीनारायण शाहले तीन पटक युद्व लड्नु चानचुने कुरा होइन

काठमाडौं–‘निरन्तर प्रयास गरियो भने जस्तो सुकै कठिन लक्ष्य पनि सम्भव हुने रहेछ । तात्कालिन अवस्थामा तीन तीन पटक युद्ध लड्नु चानचुने कुरो थिएन, आखिर जितेरै छाडे पृथ्वीनारायण शाहले ।’ यसो भनिरहेकी थिइन् हिल टाउन स्कूलको कक्षा १० का विद्यार्थी अनुस्का घिमिरे ।
‘अझ भैरवसिंह नामका एक वीरंगना जो नारी भएर पनि पृथ्वीनारायण शाहको सैनिकलाई एक्लै चुनौती दिइरहे । उनको साहसलाई म सलाम गर्छु र नारीप्रधान यो चलचित्रले अर्को रस थप्यो मेरो लागि ।’ अनुस्काले थप्न भ्याइन् ।
सन्दर्भ कृष्णसिने भिजन हल पाँगामा प्रदर्शन गरेको नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीको हो । तात्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान कीर्तिपुरमा विजय गरेको विषयलाई लिएर निर्माण भएको चलचित्र हेर्न पाउँदा अधिकांश बच्चाहरु दंग थिए ।
काठमाडौं दक्षिण भेगका स्कूले विद्यार्थीहरुलाई लक्षित गरेर प्रदर्शन गरिएको सो चलचित्र हेर्न एकै दिन भए पनि सिनेमा हलमा भीड लागेको थियो । पाठ्यक्रममा आंशिक उल्लेख भएको इतिहासलाई चलचित्रमार्फत हेर्न पाउँदा स्कूलका शिक्षकहरु पनि सन्तुष्ट देखिन्थे । ‘इतिहासलाई विस्तृत रुपमा सिक्ने मौका मिल्यो । हाम्रा पुर्खाले सुनाउने कथाबस्तुलाई चलचित्रमार्फत हेर्न पाउँदा आनन्द महशुस भयो ।’ शिक्षक राजन तण्डुकार भनिरहेका थिए ।
‘यो चलचित्रमा लुकाइएको इतिहास समेत देखाएको भएर विद्यार्थीहरुलाई अझ बढी सिक्ने मौका मिल्छ ।’ उनी भनिरहेको थिए । हुन पनि स्वर्गिय बासु पासाले लेखेको भैरवसिंह नामक उपन्यासमामा आधारित यो चलचित्रमा कीर्तिलक्ष्मी पात्रलाई महत्वपूर्ण भूमिकामा प्रस्तुत गरिएको छ । त्यस्तै भग्नावेशन अवस्थामा रहेको कीर्तिपुरको दरबारलाई समेत भिडियो एनिमेसनमार्फत काल्पनिक रुपमा देखाइएको छ ।
‘कीर्तिपुर चलचित्रमा मौलिकता देखेँ । तात्कालिन अवस्थामा गोर्खाली सेनाले कीर्तिपुर आक्रमण गर्दा देखिएको माहौल प्रष्ट हुन्थ्यो ।’ अनर ईन्टरनेसनल स्कूलका शिक्षक प्रदीप तिमिल्सेनाको भनाई थियो । चलचित्र सन्तुलित र उत्कृष्ट बनेकोमा उनले निर्माण टोलीलाई धन्यवाद समेत दिन भ्याए । ‘हामीले अहिले सम्मको इतिहासलाई गोर्खाको पक्षबाट मात्र पढेका थियौं । तर यो चलचित्रमा दुइटै पक्षलाई समेटेर बनाएको पाएँ । अझ अलि बढी कीर्तिपुरको सन्दर्भ भएको मलाई अनुभव भयो ।’ उनी भनिरहेका थिए । गोर्खाको विषयलाई विस्तृत रुपमा प्रस्तुत गरेको भए अझ बढी राम्रो हुने उनको ठहर थियो ।
स्वर्गीय बासु पासाले लेखेको भैरवसिंह नामक उपन्यासमा आधारित यो चलचित्रमा पटकथा प्रदीप खड्गी तथा केके मानन्धरले संयुक्त रुपमा गरेका छन् । चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, अन्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।
फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् । त्यस्तै कला निर्देशन केके मानन्धरले गरेका छन् । ९० प्रतिशत एनिमेशन भएको चलचित्रमा भी.एफ.एक्स सुपरभाइजर सन्तोश के.सी तथा उनको टोलीले एनिमेशन गर्नुभएको हो । हरिशरण साय्मिको संगीत रहेको चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् । चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेरेका छन् । चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.