-->
'युरो २०१६ खेलमा हमला गर्ने योजना'

युक्रेनका अधिकारीहरुले भनेका छन्, गत महिना थुप्रै हातहतियारका साथ पक्राउ परेका एक फ्रान्सेली नागरिकले फ्रान्समा हुने युरोपेली फुटबल प्रतियोगिताका बेला श्रृंखलावद्ध हमलाहरु गर्ने योजना बनाइरहेको बताएका छन्। 

युक्रेनको सरकारी गुप्तचर निकायका अनुसार ती फ्रान्सेली पुरुषले १५ वटा विभिन्न हमलाहरुको योजना बनाएका थिए र उनी उग्रराष्ट्रवादी धारणाहरुबाट प्रेरित थिए।

ती २५ बर्षिय फ्रान्सेली नागरिकलाई पोल्याण्डसंगको युक्रेनी सीमामा पक्राउ गरिएको थियो।

निशाना

आउंदो शुक्रबार देखि आरम्भ हुने युरो २०१६ फुटबल प्रतियोगिताका बेला विभिन्न १५ स्थानमा हमला गर्ने योजना बनाएका ती व्यक्तिले पुलहरु, राजमार्ग, मस्जीद, यहुदीहरुको प्रार्थनास्थल लगायतका स्थानलाई निशाना बनाउन चाहेको युक्रेनी गुप्तचर प्रमुखले बताए।

तर फुटबल प्रतियोगितामा नै हमला गर्ने योजना भए, नभएको भने स्पष्ट छैन। 

प्यारिस प्रहरीका प्रमुखले युरो २०१६ खेल आयोजना हुने कुनै पनि स्थानमा विशेष सुरक्षा खतरा नरहेको पत्रकारहरुलाई बताएका छन्।

ती व्यक्तीलाई हतियार सहित गत मे २१ तारिखमा पक्राउ गरिएको समाचार सबैभन्दा पहिले फ्रान्सको नेटवर्क एम ६ टेलिभिजनले सार्वजनिक गरेको थियो।

पक्राउ परेका ती व्यक्ति पूर्वी फ्रान्सको एउटा कृषि सहकारीमा काम गर्ने कामदार भएको बताइएको छ।

अभिलेख

विवरणहरुका अनुसार उनी पहिले आपराधिक क्रियाकलापमा संलग्न भएको कुनै अभिलेख छैन।

फुटबल प्रतियोगितालाई इस्लामवादी उग्रवादीहरुले निशाना बनाउन सक्ने आशंकामा फ्रान्सका अधिकारीहरु उच्च सुरक्षा सतर्कताको अवस्थामा रहेका छन्।

आइतबार राष्ट्रपति फ्रांस्वा ओलाँदले खेल आयोजनाका बेला जोखिम कायम रहेको तर फ्रान्स त्यसबाट नडराउने बताएका थिए।

युक्रेनको गुप्तचर निकायले आफूले गत डिसेम्बर महिनादेखि नै ती पक्राउ परेका संदीग्ध व्यक्तीलाई आफ्नो निगरानीमा राखिरहेको बताएको छ।

उनले पांचवटा कलाश्नीकोभ राइफल, दुईवटा एन्टी ट्यांक ग्रीनेड लञ्चर, पांचहजार राउण्ड गोली र एकसयवटा डिटोनेटरका साथै ठूलो मात्रामा विस्फोटक थुपारेका बताइएको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.