-->
अमेरिकी हिमालतिर अाकर्षित हुँदैछन् नेपाली शेर्पाहरु

विश्वको सर्वोच्च शिखर सगरमाथामा कीर्तिमान राखेर नाम कहलाएका शेर्पाहरुका अाँखा अमेरिकी हिमालतिर

विश्वको सर्वोच्च शिखर सगरमाथामा कीर्तिमान राखेर नाम कहलिएका शेर्पा जातिहरुको अहिले अमेरिकी हिमाल आरोहणमा पनि आकर्षण बढीरहेको छ। सगरमाथा आरोहण गरेपछि शेर्पाहरु ब्यक्तिगत खर्चमा ठूलो चुनौती लिएर अमेरिकाका ज्वालामुखीबाट बनेको पहाड आरोहण गर्न यहाँ आउने गर्दछन्।

अमेरिकाकाको आलास्क, क्यालिर्फोनिया, वासिंगटन, फ्लोरिडा र कोलोराडो राज्यका भएका हिमाल आरोहणमा अहिले शेर्पाहरुको आकर्षण बढेको हो। विशेष गरी अमेरिकाको सबैभन्दा उच्च हिमाल माउण्ट डेनाली (६,१९० मी.) आरोहणमा अहिले शेर्पाहरु अगाडि देखिन्छन्।

नेपालबाट डेनाली आरोहणको लागि भनेर बार्षिक दर्जनको हाराहारीमा आरोहीहरु अमेरिका आउने गर्दछन्। त्यससंगै, अमेरिकामा नै लामो समय बसोवास गरी यहाँका  नागरिकता लिएका शेर्पाहरु पनि ‘होलिडे’ मनाउन र हिमाल आरोहणको लागि भनेर आलास्कासम्म पुग्दछन्।

हिमालसंग रगतको साईनो रहेको बताउने नेपालका उच्च हिमाल भेगमा बसावास गर्ने शेर्पा जातिहरु अमेरिकामा पनि माउण्टेन क्षेत्रमा नै बसोवास गर्न रुचाउछन्। ‘हामीलाई बिहान उठ्ने वित्तिकै हिमाल देखिएन भने त्यो दिन नै नरमाइलो लाग्छ’, पासाङ शेर्पा भन्दछन्।

सगरमाथाको चार पटक आरोहण गरिसकेका अन्तराष्ट्रिय माउण्टेन गाईड लाक्पा शेर्पा पनि गत बर्ष डेनाली हिमाल आरोहणको लागि अमेरिका आए। जुन महिनामा डेनाली आरोहण गरेको अनुभव सुनाउदैँ शेर्पा  भन्दछन्, 'यो हिमाल आरोहण गर्दा अलि फरक अनुभव हुन्छ। उचाईमा सगरमाथाभन्दा सानो भएपनि टेक्निकल हिमाल भएकाले ‘एडभाञ्चर फिलिङ’ हुन्छ।'

अमेरिकाको डेनाली हिमाल आरोहण निकैं महगो भएता पनि बर्षिक नेपालबाट तीन देखि चार जनाले आरोहण गर्ने गरेको शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार डेनाली आरोहण गर्दा कम्तिमा पनि दुई हप्ता लाग्दछ भने ५ देखि ८ हजार डलर खर्च हुन्छ।

‘डेनाली हिमाल आरोहण गर्दा सगरमाथामा जस्तो सहयोगीले भारी बोक्दैन। आफ्नो समान आफैले माथि लिएर  जानु पर्छ। त्यसैले पनि एउटा फरक अनुभुति हुन्छ’, शेर्पाले भने।

डेनाली आरोहणको लागि जुन र जुलाई महिना उपयुक्त समय हो। सन् २०१६ को यो सिजनमा  करिब एक दर्जन नेपाली आरोहीले डेनाली हिमाल आरोहणको लागि आलास्का प्रस्थान गरिसकेका छन्।

डेनाली हिमालसंगै वासिंगटनको स्याटलमा ज्वालामुखीबाट बनेको माउण्ट रेनर (१४,४१० फिट) आरोहणमा पनि नेपाली आरोहीको आकर्षण छ। अन्तराष्ट्रिय माउण्टेन गाईड आङ ग्याल्जेन शेर्पा अहिले माउण्ट रेनर आरोहणको लागि न्युयोर्कबाट स्याटल प्रस्थान गरेका छन्। यो महिनामा उनले उक्त हिमाल आरोहण गर्ने जानकारी सेतोपाटीलाई दिए।

अमेरिकाका यस बाहेक मेरिल्याण्ड, लुसियाना, नाब्रास्का, नाभाडा, टेक्सास, हवाई, जर्जिया, लोवा राज्यमा पनि ससाना सयौं पिक छन्, जसले गर्दा अमेरिकामा बसोवास गर्ने हिमाली भेगमा शेर्पालाई अमेरिकी हिमालसंग सामिप्यता बढेको छ।

हिमपहिरो र विनाशकारी भूकम्पपछि सगरमाथा आरोहण असहज भएपछि अमेरिकी हिमाल आरोहणमा विगत बर्षमा शेर्पाहरुको आकर्षण बढेको हो। शेर्पाहरु लामो समयदेखि ठूलो संख्यामा अमेरिकामा बसोबास गर्दछन्। उनीहरु कामको थकान र अमेरिकामा ‘भ्याकेशन’ मनाउन यस्तै हिमाल आरोहण र हिमाल भेगमा पुग्ने गर्छन्।

सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले पनि आफूलाई एक पटक डेनाली आराहण गर्ने इच्छा रहेको जानकारी दिइन्। यो बर्ष सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो नेपाली महिला बन्न सफल शेर्पाले टेलिफोनमा कुरा गर्दै भनिन्, 'डेनाली अलि टेक्निकल हिमालसंगै आरोहणको फरक अनुभुति हुने हुनाले मलाई  आरोहण गर्ने इच्छा छ।'



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.