-->
दश प्रकारका पापहरण गर्न दशहरा स्नान मेला

काठमाडौँ, दश प्रकारका पापहरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा ज्येष्ठ शुक्ल प्रतिपदादेखि सुरु भएको दशहरा स्नान आज घर घरमा तुलसी बीज रोपी सम्पन्न भएको छ ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, बिनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पु¥याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

 
यस अवसरमा रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गम, काठमाडौँको उत्तरगया नजिकैको वाग्मती किनारस्थित हत्यामोचनघाट लगायत देशभरका नदीमा मेला लाग्ने गर्छ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीका दिनसम्म स्नान गरेर नाश हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । “११ दिनमध्ये ज्येष्ठ शुक्ल दशमी गङ्गा दशहराको मुख्य दिन हो”, उहाँले भन्नुभयो ।

वाग्मती नदी सफा हुँदा हत्यामोचनघाटमा लाग्ने गङ्गा दशहरा मेलामा नुहाउनयोग्य पानी बग्न थालेपछि स्थानीयवासीले यस वर्ष तीन दिनसम्म निरन्तरता दिए । मेला आज बिहान तुलसीको बीज रोपेपछि समापन गरिएको मेला आयोजक समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । तुलसी बीजारोपण गरिने आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.