भोलिदेखि कोपा अमेरिका : यस्ता छन् हेर्नलायक टोली र खेलाडीहरु
काठमाडौं – शनिबार बिहानबाट कोपा अमेरिका सुरु हुदैँछ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका पूर्व विश्वविजेताहरु उरुग्वे, ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्ने प्रतियोगिता भएका कारण पनि विश्वभर चर्चित छ । पछिल्लो समय दक्षिण अमेरिकामा कोलम्बिया, चिली लगायतका देशहरुले समेत आफ्नो कडा चुनौती पेश गर्दै आएका छन् । सन् २०१४ को विश्वकपमा यि दुबै देश क्वाटरफाइनलमा पुगेका थिए ।
यसबाहेक सन् २०१४ को विश्वकपमा अन्तिम १६ मा स्थान बनाएका ८ टोली यसपटकको कोपा अमेरिकामा प्रतिस्पर्धामा हुनेछन् ।
कोपा अमेरिका सूरु भएको १ सयौँ वर्षगाठँका अवसरमा आयोजित यस प्रतियोगिताले ठूलो महत्व राख्छ । दक्षिण अमेरिकाका १० र उत्तर अमेरिकाका ६ टोलीहरुले प्रतिस्पर्धा गर्ने भएका कारण यसपटक यो प्रतियोगिता अमेरिकी महाद्विपकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ ।
समूह ए : कोस्टारिका, कोलम्बिया, अमेरिका र पाराग्वे
हेर्न लायक खेलाडी : यस समूहमा रहेका सबै टोलीहरुको स्तर उस्तै छ । तर खेलाडीको स्टारडमका मामिलामा कोलम्बियाका जेम्स रोड्रिग्वेज सबैभन्दा अगाडी छन् । दुई वर्षअघि विश्वकप फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उनी रियल म्याड्रिडमा आबद्ध भएका थिए । सन् २०१४ को विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने क्रममा उनले ६ गोल गरेका थिए । तर रियलबाट उनले पर्याप्त खेल्ने मौका पाएका छैनन् । उनले यस सिजन केवल १७ ला–लिगा खेलमा सुरुआतबाटै मैदानमा उत्रन पाए । च्याम्पियन्स लिगमा रियलले खेलेका १३ खेलमध्ये रोड्रिग्वेज ५ खेलमा मात्रै मैदानमा देखिए ।
समूह बी : इक्वेडर, पेरु, हैटी, ब्राजिल
हेर्न लायक खेलाडी : यस समूहमा ब्राजिल नै सबैभन्दा बलियो टोली हो । तर ब्राजिलका स्टार नेइमार प्रतियोगितामा सहभागि हुनेछैनन् । भेट्रान फुटबलर काका चोटका कारण दुई दिनअघि मात्रै प्रतियोगिता खेल्न असमर्थ भए । यसअघि नै चोटका कारण डोउग्लस कोस्टा प्रतियोगिताका लागि उपलब्ध थिएनन् । ब्राजिलका लागि स्टार खेलाडीको अनुपस्थितीबीच विलियान सबैभन्दा भरपर्दा खेलाडी हुनेछन् । २७ वर्षका विलियान विपक्षी डिफेन्डरहरुका लागि सधैँ घातक साबित हुने गरेका छन् । यस सिजन चेल्सीले राम्रो प्रदर्शन गर्न नसकेपनि बिलियमको प्रदर्शन सम्झनलायक रह्यो । उनी चेल्सीका वर्ष खेलाडी घोषित भएका छन् । प्रशिक्षक डुङगाले तयार पारेको वल्र्ड क्लास मिडफिल्डमा बिलियमको महत्व अन्य खेलाडीको तुलनामा धेरै छ ।
समूह सी : भेनेजुयला, मेक्सीको, उरुग्वे, जमैका
हेर्नलायक प्रशिक्षक : जुआन कार्लोस ओसोरियो यस समूहमा हेर्नलायक व्यक्ति हुन् । यि कोलम्बियाली प्रशिक्षकले अहिले मेक्सीकोलाई प्रशिक्षण दिइरहेका छन् । उनको प्रशिक्षणमा कोलम्बियाले पछिल्ला ७ खेल कुनै गोल नखाई जितेको छ । मेसिक्को पछिल्ला १४ खेलमा अपराजित छ । उनले यसबीच मेक्सिकोलाई कोन्काकाफ गोल्डकप र कोन्काकाफ कप जिताइसके । अब कोलम्बियन प्रशिक्षक जुआन कार्लोसको लक्ष्य कोपा अमेरिका जित्ने हो । उनको टोलीमा मिगुइल लायून र जाभियर हर्नान्डोजजस्ता खेलाडी छन् ।
हेर्नलायक खेलाडी : लुईस सुआरेज चम्किएको खण्डमा यो समूहमा उनलाई कुनै पनि विपक्षीले रोक्न सक्ने सामथ्र्य राख्दैनन् । तर पछिल्लो समय चोटग्रस्त रहेका कारण उनले समूह चरणका खेल गुमाउने संभावना उत्तिकै छ ।
बार्सीलोनाका लागि यस सिजन प्रेरणादायि प्रदर्शन गरेका सुआरेजको टोली डिएगो गुडिन र जोसे मारिया गिमेनेज जस्ता विश्वकै उत्कृष्ट डिफेन्डरहरुले सज्जित छ । सुआरेजसँगै इडिन्सन काभानी उरुग्वेका अर्का प्रभावशाली खेलाडी हुन् । कार्लोस सान्चेज, अब्देल हर्नान्डेज र गास्टोन रेमिरेजजस्ता आक्रामक खेलाडीको ध्यान काउन्टर एट्याकमा हुनेछ ।
समूह डि : चिली, अर्जेन्टिना, पानामा, बोलिभिया
महत्वपूर्ण खेल : यो समूहमा चिली र अर्जेन्टिना नै बलिया टोली हुन् । दुबैले समूह चरणको सूरुआती खेलमै प्रतिस्पर्धा गर्नेछन् । चिलीले पछिल्लो समय अर्जेन्टिनालाई फाइनलमा हराएर कोपा अमेरिका जितेको थियो ।
हेर्नलायक खेलाडी : लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनासँग विश्वकै एकसे एक स्टार खेलाडी छन् । गोलकिपर सर्जियो रोमिरो, एन्जेल डि मारिया ,जाभियर मास्चिरानो, गोन्जोलो हिगूइन, सर्जियो अग्वुइरो, इजिक्वेल लाभेज्जी,इरिक लामेला लगायतका एक से एक खेलाडी सम्मिलित अर्जेन्टिना प्रतियोगिताको उपाधीकै दाबेदार हो । यता, चिलीसँग गोलकिपर क्लाउडियो ब्राभो, फरवार्ड एलेक्सिज सान्चेज र खतरनाक मिडफिल्डर अर्टुरो भिडाल छन् । यि तीनवटै खेलाडी अहिले करियरकै उच्च लयमा छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...