बाघ बढाउन ४६ करोडको परियोजना
भरतपुर (चितवन): नेपाल सरकारको नेतृत्वमा डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको संयुक्त प्रयासमा बाघको संख्या बढाउन ४६ करोड ४९ लाख एक हजार रुपैयाँ छुट्याइएको छ।
बजेटमध्ये डब्लुडब्लुएफ नेपालले २२ करोड ६८ लाख ५१ हजार र जेडएसएल नेपालले २३ करोड ८० लाख ५० हजार खर्चने भएका हुन्।जर्मन विकास बैंक र आईयूसीएनको आर्थिक सहयोगमा एकीकृत बाघ बासस्थान संरक्षण कार्यक्रम तीन महिनाअघिदेखि सुरु भएको हो।
यो रकम बाघको बासस्थान व्यवस्थापनसँगै जैविक मार्गको प्रभावकारी संरक्षण, बाघको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र संरक्षित क्षेत्रको व्यवस्थापन कार्यमा खर्च गरिने डब्लुडब्लुएफ नेपालका फिल्ड कार्यक्रम निर्देशक शिवराज भट्ट बताउँछन्।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर (दुई सय ४२ वटा) पुर्याउने प्रतिवद्धता पूरा गर्न पर्स-चितवन-वाल्मिकी क्षेत्रमा बाघको संख्या ६० प्रतिशतले वृद्धि गर्ने लक्ष्य परियोजनाले लिएको उनले जानकारी गराए।
परियोजनाबारे जानकारी दिन हेटौँडामा फिल्डस्तरीय परियोजना शुभारम्भ गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा दिइएको जानकारी अनुसार परियोजनाको कार्यक्षेत्रअन्तर्गत पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष एवं चितवन, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, भारतमा रहेको वाल्मिकी बाघ आरक्ष र नन्दोर वन्यजन्तु स्याङयुरी रहेका छन्।
सन् २०१० को नोभेम्बरमा रसियाको सेन्ट पिटर्सबर्ग सहरमा भएको बाघ सम्मेलनमा विश्वका बाघ पाइने १३ देशले सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउने कार्यनीतिसहितको लक्ष्य पारित गरेका थिए।
बाघ पाइने देशमा नेपाल, भारत, चीन, रसिया, बंगलादेश, भुटान, कम्बोडिया, इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, लाओस्, मलेसिया र म्यानमार पर्दछन्। यी देशहरूमा छ प्रजातिका चार हजार दुई सय ४० बाघ रहेका छन्। बाघका कुल नौ प्रजातिमध्ये बाली सन् १९४०, क्यास्पियन सन् १९७० र जाभा सन् १९८० को दशकमा लोप भइसकेका छन्।
नेपालमा हरेक चार वर्षमा पाटेबाघको संख्या र अवस्थितिबारे सर्वेक्षण गरिँदै आएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। सन् २०१३ को पछिल्लो बाघ सर्वेक्षणमा नेपालभर कुल एक सय ९८ पाटेबाघ फेला परेका थिए।
जसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा एक सय २० पाटेबाघ भेटिएका थिए। उक्त सर्वेक्षणका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा सात र बाँके राष्ट्रिय निकुञ्जमा चारवटा बाघ फेला परेका थिए।
सन् २०१० मा नेपालले बाघ सम्मेलनमा भाग लिँदा नेपालमा बाघको संख्या एक सय २१ वटा रहेकोले सन् २०२२ सम्म नेपालमा बाघको संख्या कम्तीमा दुई सय ४२ पुर्याउने लक्ष्य सरकारले लिएको छ। बासस्थानको विनास र चोरी सिकारको कारण पाटेबाघ संकटापन्न अवस्थामा पुगेको सरकारी अधिकारीहरू बताउँछन्।
वन विभागका क्षेत्रीय निर्देशक अखिलेश्वरलाल कर्णको अध्यक्षतामा सम्पन्न गोष्ठीमा डब्लडब्लुएफका डा. कञ्चन थापा र जेडएसएल नेपालका टेकराज भट्टले परियोजनाबारे प्रस्तुति दिएका थिए।
गोष्ठीको अन्तरसंवाद सत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेल, जेडएसएल नेपालका डा. भगवान कोइराला, पर्सा वन्यजन्तु आरक्षका प्रमुख युवराज रेग्मी, चितवनका जिल्ला वन अधिकृत गणेश राय, बाराका जिल्ला वन अधिकृत जीवन ठाकुर, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादव, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन निकुञ्जका अध्यक्ष मधुकर मल्ललगायतले बाघ संरक्षणको आवश्यकताबारे बहस गरेका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...