-->
रियल मड्रिडबाटै खेल जीवनबाट सन्यास लिन चाहन्छुः रोनाल्डो

'रियलमै खुशी छु,अन्य क्लव जाने इच्छा छैन'

रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाटै आफ्नो खेल जीवनको अन्त्य गर्न चाहेको बताएका छन्। 
 
रियल मड्रिडमा आफू खुशी रहेको उल्लेख गर्दै रोनाल्डोले खेल जीवनको बाँकी करियर रियलमै विताउन चाहेको बताएका हुन्। 
 
रोनाल्डोले भनेका छन्,‘मैले मेरो फुटबलको बाँकी करियर यही विताउन चाहन्छु। मेरो ४० औँ जन्मदिन रियल मड्रिडमै मनाउने छु भन्ने मेरो आशा छ।’
 
३१ वर्षीय स्ट्राइकर रोनाल्डोले आफू अझै ९ वर्ष सक्रियरुपमा फुटबल खेल्न सक्ने उल्लेख गरेका छन्।  सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट सर्वाधिक महंगा खेलाडी भएर रियल भित्रिएका रोनाल्डो रियल मड्रिडका उच्च गोलकर्ता हुन्।
 
उनले राउलले रियलमा राखेको कीर्तिमानी गत सिजनमै तोडेका थिए। ‘म रियल मड्रिडबाटै सन्यास लिनेछु जब म ४० वर्षको हुनेछु, रोनाल्डोले एससँगको कुराकानीमा भनेका छन्,‘म रियलमा धेरै खुशी छु र उपलब्धि हासिल गर्न कडा मेहेनत गर्नेछु।’ 
 
फ्रान्सेली क्लब पीएसजीले पछिल्लो केही समय रोनाल्डोलाई चर्को मूल्यमा  भित्र्याउन खोजेका समाचारहरु बाहिर आएपनि रोनाल्डोले सान्टियागो बर्नबाउ छोड्ने आफ्नो सोच नभएको वताएका छन्।
 
केही साता अघि रियल मड्रिडले ११ औँ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा अन्तिममा रोनाल्डोले नै निर्णायक गोल गरेका थिए। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.