काठमाडौं—सत्तारुढ दल नेकपा एमालेले १८ असारमा सात वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठक बजेट तथा नीति तथा कार्यक्रमबारे बुझाउन सात वटै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।
महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयनमा स्थानीय पार्टी कमिटीहरुको भूमिकालाई स्पष्ट गर्न साथै नीति कार्यक्रम तथा बजेटका बारेमा सचेतनता जागृत गर्न देशव्यापी परिचर्चा, छलफल, अन्तक्र्रियाजस्ता कार्यक्रमहरु गर्ने निर्णय गरेको हो । जसअनुसार असार १८ गते शनिबार एकैदिन सातवटै प्रदेशमा यस्ता कार्यक्रम आयोजना गरिनेछन् ।
प्रदेश नं. १ को इटहरीमा हुने सभालाई पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, प्रदेश नं. २ को जनकपुरमा हुने सभालाई पूर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । यस्तै प्रदेश नं. ३ को धुलिखेलमा हुने सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।
यस्तै प्रदेश नं. ४ कोृ पोखरामा हुने सभालाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, प्रदेश नं. ५ को बुटवलमा हुने सभालाई उपाध्यक्ष वामदेव गौतम, प्रदेश नं. ६ को सुर्खेतमा हुने सभालाई अर्का उपाध्यक्ष युवराज ज्ञवाली र प्रदेश नं. ७ को धनगढीमा हुने सभालाई उपाध्यक्ष भीम रावलले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमालेले यस्तै प्रकृतिको कार्यक्रम असार २२ देखि २९ गतेसम्म सबै जिल्लामा आयोजना गर्न सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औं स्मृति दिवस अवसर पारेर साउन ७ गते ‘संविधानको कार्यान्वयनमा राजनीतिक सहमति र सहकार्य’ विषयक विचार गोष्ठी सबै जिल्लामा एमालेले आयोजना गर्ने भएको छ ।
एमालेले भूकम्पबाट पार्टी कार्यलय भत्किएपछि नयाँ पार्टी कार्यलय निर्माणका लागि सहयोगको आग्रह गर्ने निर्णय समेत गरेको छ ।
एमालेले १८ असारमा देशका सात वटै प्रदेशमा सभा गर्ने, कहाँ कुन नेताले सम्बोधन गर्दैछन ?
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...