-->
नारायणगढ-मुग्लिन सडकखण्डमा चार वटा पुल बनाइँदै

सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । 
 
भरतपुरबाट मुग्लिनसम्मको दूरीमा २१ वटा पुल रहेका छन् । जसमध्ये चार ठाउँमा नयाँ पुल निर्माण गरिने नारायणगढ–मुग्लिन आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । दासढुङ्गा, खानी पुल, मौरी पुल र जलवीरे पुल भएको ठाउँमा नयाँ पुल निर्माण गरिँदै छ । ती स्थानमा रहेका पुराना पुललाई मर्मत सम्भार गरिने र नयाँ पुल निर्माण गरिने खनालले बताए । 
 
पुराना पुलमा खाली सवारी साधन र नयाँ पुलमा मालबाहक सवारी साधन सञ्चालन हुनेछ । हाल सञ्चालनमा रहेका पुलहरु छदेखि सात मिटरसम्मका चौडा रहेका छन् । अब बन्ने पुल भने सात मिटरदेखि ११ मिटरसम्म चौडा छन् । 
 
कतिपय स्थानमा बाटोको रेखाङ्कनअनुसार सिधा पारिने हुँदा नयाँ पुल अति आवश्यक भएको हो । अन्य १७ वटा पुलको पनि अध्ययन भइसकेको छ । ती पुल निर्माण क्रमशः हुँदै जाने बताइएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा र जीर्ण अवस्थामा रहँदा यातायातका साधन सहजै गुडाउन सकिएको थिएन । आँपटारीदेखि मुग्लिनसम्मको सडक चौडा बनाउने काम भइरहेको छ । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.