३० लाख ऋण नतिर्न ३२ लाख चोरीको नाटक
जनकपुरधामः साथीहरुबाट लिएको लाखौं ऋण तिर्न नसकेपछि आफ्नै मनी ट्रान्सफरबाट रकम चोरी भएको हल्ला गर्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आइएमईआई सञ्चालक ३५ वर्षीय राजेशकुमार साह रहेको प्रहरीले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ इलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी रहेको राष्ट्रिय वाणिज्य बैकको भवन तलस्थित माँ आसिष ट्रेडर्स मनी ट्रान्सफरबाट जेठ २७ गते राति ३२ लाख रुपैंया चोरी भएको जानकारी सञ्चालक साहले प्रहरीलाई दिएका थिए ।
उनले आफ्नो पसलमा अज्ञात समुहले चोरी गरेको प्रचारप्रसार समेत गरे । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धानपछि सञ्चालकले दिएको चोरीको सूचना नै शंकास्पद भएको ठहर गरेको थियो ।
साहले दिएको सूचना नै शंकास्पद भएको पत्ता लागेपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी नकुल पोखरेलले जानकारी गराए ।
अनुसन्धानका क्रममा सञ्चालक साहले पसलमा आफूले चोरी भएको नाटक गरी हल्ला फैलाएको स्वीकार गरेका छन् ।
उनलेसाथीहरुबाट लिएको ऋण तिर्न नसकेपछि ३२ लाख रुपैयाँ चोरी गरेको नाटक गरी हल्ला फैलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनले साथीबाट लिएको ३० लाख रुपैयाँ ऋण तत्काल चुक्ता गर्न सक्ने अवस्था नभएपछि चोरीको नाटक गरेको बयान प्रहरीमा दिएका हुन । उनलाई नाटक गरी अफवाह फैलाएकोमा अभियोगमा मुद्दा दायर गरी थप अनुसन्धान थालिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...