धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख
जेष्ठ २६, २०७३- भूकम्पपीडितहरुको लागि घर बनाउन लागिपरेका हास्य कलाकारहरु सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मस र सुन्तली)लाई अष्ट्रेलियाबाट करिब १२ लाख रुपैयाँ सहयोग संकलन गरिएको छ । सहयोग संकलनमा पुर्नवासमा आएका नेपालीभाषी भुटानीहरु पनि लागेका छन् ।
धुर्मुस र सुन्तलीले भुकम्पपीडितहरुको लागि निर्माण गर्ने भनेको सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि अष्ट्रेलियाको सिड्नी र एडिलेडमा रहेका युवाहरुले सामुहिक रुपमा यो रकम संकलन गरेका हुन् । संकलित रकममध्ये करिब आधा रकम पठाइसकिएको छ भने अन्य रकम फाउण्डेसनलाई चाँडै नेपाल गएर हस्तान्तरण गरिने उनीहरुले बताएका छन् । कट्टेल र घिमिरेले भुकम्पपीडितहरुलाई बसोबासका लागि घर निर्माण गर्न स्थापना गरेको फाउण्डेसनमार्फत रकम हस्तान्तरण गरिने सहयोग संकलनमा लागेका युवाहरुले बताएका छन् ।
सिड्नीमा रहेको युवाहरुको संगठन जय नेपाल फाउण्डेसनले एक सातामा संकलन गरेको ३ लाख २० हजार रुपैयाँ र एडिलेडमा दीपक लामा लगायतका युवाहरुले संकलन गरेको १ लाख ८२ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिसकिएको छ भने थप २ लाख रुपैयाँ संकलन गरिसकिएको लामाले बताए । यसैगरि सिड्नीमा रहेका युवा विपिन थापा लगायतको सक्रियतामा संकलन भएको ३ लाख रुपैया केही दिनमा नै नेपाल गएर हस्तान्तरण गरिने उनीहरुले जानकारी दिएका छन् ।
धुर्मुस सुन्तलीले सुरु गरेको कामलाई कुनै संस्थाबाट नभइ आफुले कमाएको रकममध्येबाटको रकम बचाएर उनीहरुको अभियानलाई सहयोग पुर्याएको उनले बताए ।
यता एडिलेडमा पुर्नवास कार्यक्रम मार्फत आएका नेपालभाषी भुटानीहरु समेत रकम संकलनमा लागिपरेका छन् । उनीहरुले स्थानीयरुपमा सञ्चालन गरिरहेको रेडियो पहिचान मार्फत सुरु गरेको अभियानमा बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, सांसद निक च्याम्पेन र स्थानीय काउन्सिलका मेयर जीलेन अल्ड्रिज लगायतले समेत सहयोग प्रदान गरेका थिए ।
रेडियो पहिचानका ईन्द्र अधिकारीका अनुसार अहिलेसम्म २ हजार ६ सय डलर संकलन गरिसकिएको र केही दिनमा नै रकम फाउण्डेसनलाई हस्तान्तरण गरिनेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...