-->
भारतले सञ्चालन गर्न लागेको आइसिपी रोक्न कूटनीतिक पहल

काठमाडौं— वीरगन्ज–रक्सोल नाकाबाट हुने आयात–निर्यातलाई लक्षित गरी भारतले एकतर्फी सञ्चालनमा ल्याउन लागेको एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेकिङ पोस्ट–आइसिपी) तत्काल अघि नबढाउन सरकारले पहल थालेको छ। नेपालतर्फ संरचना निर्माण भइसकेपछि मात्र आइसिपी सञ्चालनमा ल्याउन कूटनीतिक तहबाट 'लबिङ' सुरु भएको हो। 

आधुनिक प्रविधिसहितको आइसिपी भारतीय पक्षले शुक्रबारै उद्घाटन गरिसकेको छ। भारतकै सहयोगमा बन्दै गरेको नेपालतर्फको संरचनामा भने अझै ३० प्रतिशत काम बाँकी छ। भारतले एकतर्फी रूपमा आइसिपी उद्घाटन गरेपछि नेपाली अधिकारी सशंकित छन्।

नाकाबन्दीले लामो समय अस्तव्यस्त बनेको आयात–निर्यात बल्लतल्ल पुरानै लयमा फर्किएको अवस्थामा भारतले एकपक्षीय ढंगले आइसिपी चलाए समस्या निम्तिने भन्सार विभागको विश्लेषण छ। नयाँ आइसिपी वीरगन्ज–रक्सोल नाकास्थित सीमापार भन्सार कार्यालयबाट करिब १४ किमी पश्चिम अलौमा छ।

मुलुकको आयात–निर्यात कारोबारको ७० प्रतिशत हिस्सा ओगट्ने नाकामा एकपक्षीय आइसिपीले ठूलो असर पर्ने जनाउँदै तत्कालका लागि पुरानै संरचनाबाट कारोबार निरन्तर राख्न नेपाली पक्षको माग छ।

यस विषयमा आइतबार वाणिज्य, आपूर्ति, भन्सार विभागका अधिकारीले एकपक्षीय र द्विपक्षीय छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पनि पहल भइरहेको वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए । 'उच्च तहबाट पनि कूटनीतिक पहल भइरहेको छ,' उनले भने, 'द्विपक्षीय व्यापार संवेदनशील भएकाले हामी चिन्तित छौँ ।'

आइसिपी सञ्चालनका विषयमा भारतीय अधिकारीसँग छलफल भइरहेको भन्सार विभागले जनाएको छ । भारतले मात्र सञ्चालन गर्दा व्ययभार बढ्ने भएकाले दुवैतर्फ एकैचोटि सञ्चालनमा ल्याउनुपर्ने विभागका महानिर्देशक शिशिर ढुंगानाले बताए । 'भारतीय पक्षले हाम्रो समस्या बुझ्नेछ,' उनले भने, 'एकतर्फी सञ्चालन गर्दा लागत बढ्छ, आयात–निर्यातमा कठिनाइ हुने भएकाले दुवै पक्षलाई घाटा छ ।'

वाणिज्य मन्त्रालयले तत्काललाई नयाँ आइसिपी नचलाउन परराष्ट्र मन्त्रालय हुँदै लिखित पत्राचार गर्दासमेत भारतीय अधिकारीले एकतर्फी रूपमा उद्घाटन गरेको वाणिज्यका एक उच्च अधिकारीले बताए । 'दुवैतर्फ एकैपटक सुरु गर्न परराष्ट्र हुँदै भारतलाई औपचारिक रूपमा आग्रह गरेका थियौं,' उनले भने, 'हाम्रो आग्रह बेवास्ता गर्दै उद्घाटन गरे पनि कारोबार एकैपटक थाल्न पहल भइरहेको छ ।'

रेलवेबाट आउने सामान १४ किमि टाढा रहेको आइसिपी हुँदै पुनः नेपालतर्फको भन्सार पास गर्दा २८ किमि थप लाग्ने भएकाले लागत र समय थप बढ्ने भन्सार अधिकारी बताउँछन् । ट्रकमा आउने सामान भने रक्सोलभन्दा ६ किलोमिटर उतै (भारततर्फ) लक्ष्मीपुरबाट आइसिपी पुगेर ल्याउन मिल्नेछ । रक्सोल रेलवे स्टेसन झर्ने कार्गो र इन्धनलगायत सामग्री नयाँ आइसिपी पु¥याउँदा आयात प्रक्रिया थप झन्झटिलो हुनेछ । उक्त नाकाबाट दैनिक १ सय २० देखि १ सय ४० वटासम्म ट्यांकरले इन्धन ओसार्ने गरेका छन् । उक्त नाकाबाट तेस्रो मुलुकबाट समेत सामान आउँछन् । अहिलेसम्म वीरगन्ज नाकामा पुरानै एकीकृत चौकीमार्फत सहजै आयात–निर्यात भइरहेको छ ।

अहिलेकै अवस्थामा आइसिपी सञ्चालन गरे भारतीय भन्सारबाट नेपालतर्फ सामान पास गराउन पुनः १४ किलोमिटर यतै फर्किनुपर्छ । यस दौरान भारतीय भन्सार पास गरिएका सामग्री बीचबाटोमै बिक्री हुने जोखिम बढ्छ । नेपालतर्फ सामान आयातमा थप असहजता निम्तनेछ ।

उक्त नाकाबाट दैनिक करिब पाँच हजार सवारीसाधन ओहोरदोहोर हुने भएकाले नेपालतर्फ संरचना निर्माण सम्पन्न नहुँदासम्म नयाँ आइसिपीमार्फत कारोबार सम्भव नभएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । भौतिक पूर्वाधारअन्तर्गत भवन, पार्किङ, गोदाम, सेट घर (सामान हेर्ने ठाउँ), बिजुली, इन्टरनेट, पानी, सडकलगायत सुविधा आवश्यक पर्छ । आइसिपीको उद्देश्य नै दुई पक्षले एकै ठाउँ कस्टम 'क्लियर' गर्ने उद्देश्य रहेकाले सञ्चालन पनि दुईतर्फ एकैचोटि हुनुपर्ने कार्यालयप्रमुख सेवान्तक पोखरेलले बताए । 'यो एक पक्षले मात्र सञ्चालन गरेर हुँदैन,' उनले भने, 'नेपालतर्फ निर्माण सम्पन्न भएपछि मात्रै भारतले आइसिपी सञ्चालन गर्नेमा आशावादी छौं ।'

निर्माणाधीन आइसिपी पुग्न नेपालतर्फबाट सडक निर्माणसमेत अघि बढेको छैन । ठूलो मालवाहक गाडी, कन्टेनर आवतजावत गर्ने भएकाले चार लेन सडक आवश्यक रहेको कार्यालय प्रमुख पोखरेल बताउँछन् । 'अहिलेको बाटो साँघुरो छ,' उनले भने, 'चार लेन बनाउनुपर्ने भए पनि सडक विभागले काम सुरु गरेकै छैन ।' भन्सार कार्यालयको दायित्व नै दुई देशबीच व्यापार सहजीकरण गर्ने भएकाले नेपालको समस्यालाई भारतीय पक्षले बुझ्ने अपेक्षा गर्छन् पोखरेल ।

भारतले एकतर्फी रूपमा आइसिपी सञ्चालनमा ल्याइहाले समस्या थपिने भन्दै नेपाली व्यवसायी चिन्तित छन् । रक्सोल आएका सामान र इन्धन घुमाएर नयाँ आइसिपीमा पु¥याई भन्सार प्रक्रिया गर्दा झन्झटिलो, महँगो र कष्टप्रद हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले बताए ।

आइसिपीको नेपालतर्फको संरचना निर्माण कम्पनी 'केएस सफ्टनेट सोलुसन'ले अक्टोबरसम्म निर्माण पूरा गर्ने जनाएको छ । निर्माण प्रक्रिया २०११ बाट निर्माण सुरु भएको थियो । उक्त भन्सार नेपाल र भारततर्फ करिब २ सय बिघामा फैलिएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.