‘एक तोला यार्चा’ ले २० किमि सडक
बझाङको दुर्गम सुर्मा गाविसवासीले आफ्नै लगानीमा २० किलोमिटर सडक बनाएर गाडी चलाएका छन् । ‘एक घर एक तोला यार्चा’ अभियानबाट ७० लाख संकलन गरी व्यासी गाविसको विरखमदेखि सुर्मा गाविससम्म उनीहरूले सडक बनाएका हुन् ।
दुर्गम भएकाले सधैं हेपिएको र विकास निर्माणमा समेत सधैं पछाडि पारिएको गुनासो गर्दै आएका सुर्मा गाविसवासी आफैं सडक बनाउन कस्सिएको निर्माण समितिका अध्यक्ष जंग बोहराले बताए ।
‘गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षले गदगद छन्,’ अध्यक्ष बोहराले भने, ‘सधंै हेपिने सुर्मा गाविस अब दुर्गम रहेन । सदरमुकाममा ३० रुपैयाँमा पाइने चामल यहाँ ५० तिरेर खानुपथ्र्यो, अब ती दिन गए ।’ विकासको काम थाल्ने भन्दै स्थानीय जलजला युवा क्लबले ‘एक घर एक तोला यार्चा’ अभियानका नाममा रकम संकलन गरेको थियो ।
आलु उत्पादनका लागि प्रख्यात मानिने उक्त गाविसमा सडक पुगेपछि यहाँको उत्पादनले सजिलै बजार पाउने सडक निर्माणको काममा अगुवाइ गरेका स्थानीय युवा समाजसेवी लोकेन्द्र हिलारीले बताए । ढुवानी खर्च बढी लाग्ने भएकाले यहाँको आलु, जडिबुटीजस्ता उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसकेको स्थिति थियो । ‘गाडी पुगेपछि यहाँका किसानले आलु बेचेर पनि गुजारा गर्न सक्ने अवस्था आएको छ,’ हिलारीले भने, ‘सबै खुसी छन्, यो गाविस जडिबुटी संकलन क्षेत्रका रूपमा पनि जिल्लामा प्रख्यात छ ।’ करिब एक करोड लागतमा निर्माण गरिएको उक्त सडकका लागि ७० लाख स्थानीयले चन्दा संकलन गरे पनि बाँकी रकममध्ये २४ लाख सुर्मा गाविस, ५ लाख जिल्ला विकास समिति र ७ लाख निर्वाचन क्षेत्र विकास कोषले बेहोरेको जलजला युवा क्लबकी सदस्य पाना बोहराले बताइन् ।
एक तोला यार्चागुम्बु वा सो बराबरको रकम ७ हजार संकलन गरी सुर्मा गाविस ९ मा सुरु गरिएको अभियानले पछि गाविसभर विस्तार भएको थियो । सुर्मावासीको विकासप्रतिको मोह देखेर गाविसभन्दा बाहिरका केही व्यक्तिले पनि स्वस्फूर्त चन्दा दिएको अगुवा हिलारीले बताए ।
जिल्लाकै प्रमुख पर्यटकीय स्थल सुर्मा सरोवर रहेको उक्त गाविसमा सडक पुगेपछि पर्यटकीय गतिविधिमा पनि वृद्धि हुने र यहाँका बासिन्दाको आयस्तर सुधार हुने आशा सुर्मावासीले राखेका छन् । सडकसँग गाविस जोडिएपछि स्थानीय उत्साहित भएका छन् । अस्पताल टाढा र सडक अभावमा यातायात सुविधासमेत नभएका कारण समयमै उपचार नपाएर त्यस भेगका बासिन्दाले ज्यानसमेत गुमाउनुपरेको थियो । ‘यातायात सहज भएपछि अब यो अवस्था नरहला,’ उनले भने ।

0 comments
प्रतिक्रिया दिनुहोस्...