चितवन, १३ पुस । अपहरण गरी शरीर बन्धक बनाएका
दुई बेग्लाबेग्लै घटनाका चार अभियुक्तलाई पक्राउ
गरिएको छ भने दुईजना फरार छन् ।
जिप्रकाले आज भरतपुरमा पत्रकारसम्मेलनको
आयोजना गरी दिएको जानकारीअनुसार भरतपुर
उपमहानगरपालिका–२० का धनञ्जय पौडेललाई
भरतपुर ओरालोस्थित एक घरमा थुनिराखेको
अवस्थामा तीनजनालाई नियन्त्रणमा लिइएको
हो । भरतपुर उपमहानगरपालिका–४ की ४२
वर्षीया रमा पौडेल, वडा नं १० का ३५ वर्षीय ध्रुव
खड्का र वडा नं ८ का ३६ वर्षीय कृष्ण लामालाई
प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक
राजन अधिकारीले जानकारी दिनुभयो ।
उनीहरुद्वारा बन्धक बनाइएका पौडेललाई मुक्त
गरिएको छ । आर्थिक लेनदेनका कारण अपहरण गरी
बन्धक बनाइएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
पुस ११ गते दिउँसो ४ बजे भएको सो घटनाको
अनुसन्धान जारी रहेको छ ।
त्यसैगरी, ना५ख ७५८६ नम्बरको ट्रकमा कपिलवस्तु
चन्द्रौटाबाट गोरु लादेर सर्लाही जाँदै गरेको
ट्रकलाई पूर्वी चितवनका राप्ती नगरपालिका–७
पम्फा खोलामा रोकेर रकम माग गर्ने एकजनालाई
पनि प्रहरीले पक्राउ गरेको छ । खैरहनी
नगरपालिका–४ बस्ने २६ वर्षीय विमल
थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न अरू दुईजना फरार रहेको प्रहरीले
जनाएको छ । अभियुक्तहरुलाई राजमार्गबाट ६
किलोमिटर पर चौकीडाँडाको जङ्गलमा नगद
तथा धनमाल खोसी चालक तथा सहचालकलाई
बन्धक बनाई राखिएको अवस्थामा पक्राउ
गरिएको हो । पुस ९ गते दिउँसो १ बजे भएको उक्त
घटनाको अनुसन्धान भइरहेको छ ।
सो पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक वसन्तबहादुर
कुँवरले प्रहरीको सुराक सञ्जाल बलियो रहँदा दुबै
घटनामा मानवीय क्षति बिना अभियुक्त पक्राउ
गर्न सफल भएको बताउनुभयो । फरार अभियुक्तको
खोजी भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...