-->
बैठक नबोलाएपछि प्रचण्ड र ओलीबीच खटपट

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी ओलीले
तराई मधेसको गतिरोध अन्त्य हुने गरी तीन दलको
साझा धारणा बनाउन त्रिपक्षीय बैठक बोलाउने
समझदारी गरे पनि त्यसको पालना नगरेको भन्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत
रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल
असन्तुष्ट भएका छन् ।
प्रधानमन्त्री ओली र दाहालबीच आइतबार
बिहान बालुवाटारमा त्रिपक्षीय बैठक बोलाउने
समझदारी भएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार
छापेको छ ।
कांग्रेस र मधेसी मोर्चासँग शनिबार भएको
छलफलबारे जानकारी गराउने क्रममा आइतबार
बिहान प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले
बालुवाटारमा वार्ता गरेका थिए ।
दाहालका सहयोगी शिव खकुरेलका अनुसार
त्रिपक्षीय वार्ताका लागि दाहालले
विराटनगरबाट साँझ पाँच बजे आउने जहाजको
टिकट तीन बजे सारेर काठमाडौं फर्किएका थिए ।
पूर्वीनेपालको कार्यक्रम छोट्याएर आउनुभएको
थियो, काठमाडौं आएर बुझ्दा त त्रिपक्षीय बैठक
नै बोलाएको रहेनछ’, खकुरेलले भने ।
स्रोतका अनुसार आफू हतारिएर काठमाडौं आउँदा
पनि बैठक नबोलाएको जानकारी पाएपछि
दाहाल आक्रोशित भएका थिए ।
दाहालले शनिबार कांग्रेस र मधेसी मोर्चासँग
संयुक्त र छुट्टाछुट्टै वार्ता गरेका थिए ।
आफ्नो अथक प्रयासका बाबजुद सरकारको नेतृत्व
गरेका प्रधानमन्त्री बैठक बोलाउन उदासीन रहेको
भन्दै दाहाल आक्रोशित भएका हुन् ।
खकुरेलका अनुसार प्रधानमन्त्री ओली र कांग्रेसले
सोमबार त्रिपक्षीय बैठक बोलाउन सक्नेछन् ।
सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरूबीच समान
धारणा बनाएर मधेसी मोर्चाले उठाएका माग
सम्बोधन गराउन दाहालले निरन्तर छलफल गर्दै
आएका छन् ।
प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले
उच्चस्तरीय राजनीतिक समितिका संयोजकका
हैसियतले विभिन्न राजनीतिक दलसँग भएको छलफल,
खासगरी मधेस केन्द्रित दलहरूले उठाएका मागका
सम्बन्धमा कांग्रेस र मधेसी मोर्चासँग भएको
वार्ताबारे आइतबार बिहान जानकारी गराएका
थिए ।
सोमबार हुनसक्ने त्रिपक्षीय वार्तामा सत्तारूढ र
प्रमुख प्रतिपक्षी दल मधेसका एजेन्डामा के कसरी
निकट हुने भन्नेबारे एकमत हुनु जरुरी भएको
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले
बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.