-->
संविधान कार्यान्वयनमा अवरोध गरेमा कारवाही : प्रधानमन्त्री



काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा
अवरोध गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । प्रशासनिक अदालतले आज
राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा
अवरोध गरी जनताका अधिकार हनन् गर्नेहरुलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त
गरेका हुन् ।
उनले देश अप्ठ्यारो
अवस्थामा रहेका बेला तस्करी र कालोबजारी गर्नेहरुलाई पनि छिट्टै ठेगान लगाउने
चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले परम्परागत विचारधारालाई चिर्दै सरकारले नयाँ विचारका
साथ काम गर्दै जाने बताए । उनले नाकाबन्दीपछि उत्पन्न असहज परिस्थितिको
छिट्टै अन्त्य हुने भन्दै अब नयाँ संविधानको कार्यान्वयन गर्न सरकार दृढताका साथ
अघि बढ्ने दाबी गरे ।
विभिन्न बहानामा मुलुकलाई द्वन्द्वमा फसाउने गतिविधि नियन्त्रण गर्न सरकार
सचेत रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नयाँ संविधानमा व्यवस्था भएका
अधिकारबारे जनतालाई सूचना दिन ढिलाई भइरहेको बताए । उनले संविधान जारी
भए पनि जनस्तरमा प्रचार हुन नसकेकोमा दुःख व्यक्त गरे । संविधानले दिएका
अधिकार लिन जनता आतुर भए पनि राजनीतिक दलले ढिलासुस्ती गरिरहेको उनको
भनाइ थियो ।
सामान्य प्रशासनमन्त्री रेखा शर्माले राजनीतिक दल र नेपाली जनताको
एकताबाट संविधान जारी भएकाले यसको जतिसक्दो छिटो कार्यान्वयन गर्नुपर्ने
बताइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.