-->
नारायण वाग्लेले महन्थलाई सोधे-तमलोपा भारतले नै बनाएको हो ?

१२ पुस, काठमाडौं । जुन मञ्चमा तराई मधेस
लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले
मधेसलाई अलग राष्ट्रको रुपमा व्याख्या गर्दै थिए,
त्यही मञ्चमा उभिएर पत्रकार नारायण वाग्लेले
उनलाई सोधे, ‘के तमलोपा भारतले बनाएको पार्टी
हो ?
हिन्दुस्तान टाइम्सका लागि रिपोर्टिङ गर्ने
पत्रकार प्रशान्त झाको पुस्तक गणतन्त्रको संघर्षमा
उल्लेखित प्रसंगलाई लिएर वाग्लेले सो प्रश्न गरेका हुन्
। वाग्लेका अनुसार झाको पुस्तकमा ‘उपेन्द्र
यादवसित अविश्वास बढेपछि महन्त ठाकुरको नेतृत्वमा
भारतले तमलोपा निर्माण गरिदिएको’ उल्लेख छ ।
वाग्ले सो पुस्तकको नेपाली संस्करण विमोचन
कार्यक्रममा टिप्पणीकारका रुपमा बोल्दै थिए ।
पत्रकार वाग्लेको प्रश्नमा ठाकुरले कुनै जवाफ नदिइकन
टारे । उनले आफूहरु भारतसित नजिक रहेको भने
स्वीकार गरे । ‘हामी मात्रै किन अरु पनि त
भारतसित नजिक हुन खोजीरहेका छन्,’ ठाकुरले भने ।
विमोचित पुस्तकमाथि पत्रकार वाग्लेले थुप्रै सवालहरु
खडा गरेका थिए । यो पुस्तक समकालिन इतिहासको
बारेमा लेखिएको भए पनि यसका विवरणहरुले
गणतन्त्रको आन्दोलनमा संलग्न बहुतप्कालाई समेट्न
नसकेको उनले बताए ।
‘लेखकले एउटा पक्ष लिएर लेखेका छन्, राजनीतिक
दृष्टिकोणको चश्मा लगाएका छन् । त्यसैले यो
नेपालको समकालिन इतिहासको ऐना होइन,’
वाग्लेले भने । पुस्तकले नेपालका हरेक महत्वपूर्ण
निर्णयहरुमा भारतीय भूमिका र सक्रियतामा भएको
देखाएर नेपालका संघर्षशील राजनीतिकर्मीहरुलाई
निरिह सावित गर्न खोजेको उनले आरोप लगाए ।
पुस्तकको हवाला दिँदै वाग्लेले भने, ‘प्रधानमन्त्रीबाट
हटेपछि प्रचण्डले लण्डन, सिंगापुर, मलेशीयासम्म गएर
रअका प्रतिनिधीलाई भेटेर बाबुरामलाई
प्रधानमन्त्री बनाउने आश्वासन दिएको दावी
पुस्तकमा गरिएको छ । तर धोविघाट भेलाबाट बनेको
गठवन्धनलाई वेवास्ता गरिएको छ ।’
हिन्दुस्तान टाइम्सको लेखबारे प्रश्न
वाग्लेले लेखक झाको हिन्दुस्तान टाइम्समा
प्रकाशित विवादस्पद लेखबारे पनि प्रश्न गरे । उनले
भने, ‘मेरा हजुरबा भारतीय हुनुहुन्थ्यो र उहाँलाई
तुल्सी गिरीले नेपाली बनाइदिए भन्ने कुरा कुनै
हिच्किचाहट बिना लेखकले अभिव्यक्त गर्नुभएको छ ।
यहाँसम्म ठिक छ । तर के उहाँले हिन्दुस्तान टाइम्समा
लेख लेखेर ‘नेपालमाथि भारतले बल प्रयोग गर्नुपर्छ’ भन्न
मिल्छ ? नेपाल सार्वभौम राष्ट्र होइन भन्न मिल्छ ?’
झाले यसको जवाफ दिन लामै पृष्ठभूमि बाँधे ।
नेपालमा भएका सबै ठूला-साना राजनीतिक
घटनाक्रमहरुमा भारत संलग्न रहेको फेहरीस्त प्रस्तुत गर्दै
अहिले पनि भारतले चुपचाप हेरेर बस्न नसक्ने उल्लेख गरे ।
मधेसी मोर्चासित गिरिजाप्रसाद कोइरालाले
गरेको आठबुँदे सहमतिको खाका पनि लैनचौरस्थित
इन्डिया हाउसमा बनाइएको भन्दै १२ बुँदे समझदारी
पनि भारतले गराएको स्मरण गरे । ‘नेपालका हरेक
ठूला-साना राजनीतिक परिवर्तनमा भारत संलग्न
छ,’ झाले भने , ‘अहिलेको मामलामा उसलाई अछुतो
राख्न मिल्दैन ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.