-->
२१ बर्षीया विधवाको त्यो रातो चप्पल ! लाउरा स्पेरो


भर्खर २१ वर्षकी भइन् विष्णु पाण्डे । १८ महिनाकी
छोरी आयुषा उनको काखमा खेलिरहेकी छिन् ।
आयुषाका पिता यस संसारमा छैनन् । विष्णुसित छन्
केवल श्रीमानका यादहरु ।
तीन वर्षअघि उनी ११ कक्षामा पढ्दा मोबाइलबाट
गलत नम्बरमा सन्देश पठाउन पुगिन् । नचिनेको केटाले
जवाफ पठायो । उसको नाम थियो दीर्घराज ।
उनीहरु मोबाइलका माध्यमले एकाएक नजिकिन पुगे ।
आखिर प्रेममै परे ।
औपचारिक प्रस्ताव दीर्घराजले राखेका थिए ।
आखिर एक दिन त कसैकी हुनु नै छ भन्ने सोचविचार गरेर
विष्णुले उनको प्रस्ताव स्वीकारिन् ।
विष्णु ११ वर्षकी हुँदा उनका पिता स्वर्गवास भएका
थिए । आमा रोजगारीका लागि विदेशिँदा उनी
१६ वर्षकी थिइन् । जब सानीआमाले उनको बिहे अरु
कसैसित गर्ने तयारी गरिन्, उनले दीर्घराजसित भनिन्,
‘भागौं ।’
‘उहाँले आनाकानी गरेको भए म जान्नथेँ,’ विष्णु
भन्छिन्, ‘तर उहाँले भन्नुभो, बस चढेर आउ, म पैसा तिर्छु
।’ उनीहरुले केही दिनभित्रै बिहे गरे ।
बिहे गरेपछि आर्थिक समस्याले गर्दा दीर्घराज बेचैन
बन्दै गए । अन्ततः एक वर्षपछि उनले निर्णय गरे, विदेश
जाने । विष्णु भन्छिन्, ‘एक दिन म बाहिरबाट घर
आउँदा सामान प्याक गर्दै हुनुहुन्थ्यो । मैले उहाँसित
विन्ती नै गरेँ, विदेश नजानुस् । तपाईंसित बोल्दिँन
भनेर घुर्की पनि लाएँ ।’
तर, दीर्घराज टसमसै भएनन् । उनले भने, ‘दुई वर्ष त हो नि
। त्यसपछि फर्किहाल्छु नि ।’ उनी सेक्युरिटी
गार्डको काम गर्न कतार आए । उनले घर छाडेको एक
महिनामै छोरी आयुषा जन्मिइन् ।
त्यसको सात महिनापछिको घटना हो । विष्णुले
एफएममा समाचार सुनिन् । कतारमा एक नेपाली
युवाको हृदयघातबाट मृत्यु भएको । उनकी सानी
छोरी छिन् भन्ने पनि सुनिनन् । यसरी विष्णु विधवा
भइन् ।
श्रीमानको वाषिर्कीका दिन मैले विष्णुलाई भेटेँ ।
घरमा मानिसहरु भरिभराऊ थिए । धार्मिक विधिहरु
चलिरहेका थिए । मेरो आँखा विष्णुको रातो
चप्पलमा पर्यो । उनको शरीरमा त्यो एकमात्र रातो
रंग थियो । नेपालको परम्परागत मान्यता अनुसार
विधवाहरुले जीवनभर रातो लगाउन मिल्दैन । यद्यपि
यो मान्यता विस्तारै फेरिँदै गएको संकेत थियो
विष्णुको रातो चप्पल ।
‘मेरी आमा विधवा हुँदा रातो धर्का मात्रै भएको
कपडा पनि लगाउनुहुन्नथ्यो,’ विष्णु सम्भिmन्छिन्,
‘तर म आफूले चाहेको लुगा लगाउनेछु ।’
यद्यपि, विष्णु विधवाको मान्यताबाट सम्पूर्णरुपमा
बाहिर निस्केकी पनि छैनन् । उनी हातमा रातो
चुरा लगाउँदिनन् । सिउँदोमा सिन्दुर लगाउँदिनन् ।
पोते लगाउँदिनन् ।
यद्यपि, उनी प्रष्ट छिन्, मैले सेतो लुगा लगाएर मेरा
मृत श्रीमानको आत्मा सुखी हुँदैन । अब उनी यो घर
छाडेर आफ्नो जीवन बसाउने छिन् । यसको अर्थ उनको
यो घरसितको सम्वन्ध सकियो भन्ने होइन । उनले
अर्को विहे गर्ने सुरसार कसेकी पनि होइनन् ।
परिवारले उनलाई आफ्नो जीन्दगी सुरु गर्न अनुमति
दिएको छ । सासू आमाले भनेकी छिन्, ‘नातिनीलाई
देखाउन कहिलेकाहीँ ल्याउँदै गर्नू ।’
‘मैले अहिले अर्को व्यक्तिका बारेमा कल्पनासम्म
गरेकी छैन,’ उनी भन्छिन्, ‘सारा ब्रम्हाण्डमा खोजे
भने पनि मैले उहाँजस्तो व्यक्ति पाउँदिन होला ।’
हामीले उनको एल्बम पल्टायों । यी तस्बीरहरु उनकी
सासूले अहिलेसम्म हेर्न सकेकी छैनन् । तस्बीरमा
दीर्घराज खाइलाग्दा ज्यानका सिनेमाको
हिरोभन्दा कम देखिएका छैनन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.