-->
अब गोहीले गर्नेछ जेलको चौकिदारी


अपराधीहरु थुन्ने जेलको सुरक्षा पुलिसले गर्दछ । तर
इण्डोनेसियामा भने अब पुलिसले होइन गोहीले
जेलको सुरक्षा गर्ने भएको छ ।
इण्डोनेसियाको लागुऔषध नियन्त्रण निकायले
एउटा यस्तो जेलको स्थापना गर्दैछ जसमा सुरक्षा
गार्डको रुपमा खतरनाक गोहीहरु तैनाथ गरिनेछ ।
देशको कुनै टापुमा त्यस्तो जेलको स्थापना गरिनेछ
जसमा लागुऔषध र हत्याका अपराधीहरुलाई
राखिनेछ ।
खुंखार अपराधीहरुले जेलका सुरक्षागार्डहरुलाई घुस
दिएर वा विभिन्न प्रलोभनमा पारेर भाग्न थालेपछि
वा कतिपय अवस्थामा झुक्याएर भाग्ने गरेपछि
त्यसको निकास खोज्दै अधिकारीहरु खतरनाक
गोहीको खोजीमा लागेका हुन् ।
लागुऔषध नियन्त्रण निकायका प्रमुख बुडी वासेसोले
जेलको सुरक्षा गर्ने खतरनाक गोहीको खोजीमा
देशका विभिन्न भागको भ्रमणमा निस्कने योजना
बनाएका छन् ।
स्थानीय संचारमाध्यममा उनले भनेका छन्ः जेलको
सुरक्षार्थ हामीले सकेसम्म धेरै गोही राख्नेछौँ र मैले
सबैभन्दा खतरनाक जातको गोही खोज्नेछु ।
मानिस सुरक्षा गार्डलाई जस्तो गोहीलाई घुस
खुवाउन नसकिने हुनाले लागुऔषध तस्करलाई जेलबाट
भाग्नको लागि रोक्न गोही निकै उपयुक्त हुने उनको
भनाइ छ ।
यद्यपि अहिले यो अवधारणा सुरुवाती अवस्थामा छ
र जेल स्थापना गरिने ठाउँ र यसको संचालन मितिका
बारेमा केही पनि टुंगो लागेको छैन ।
स्मरण रहोस् इण्डोनेसिया लागुऔषध विरोधी कडा
कानून भएका विश्वका देशहरु मध्ये पर्छ र गएको
अपि्रलमा मात्रै त्यहाँ लागु औषध अपराधमा दोषी
ठहर भएका ७ जना विदेशी नागरिकलाई मृत्युदण्ड
दिइएको थियो । लागु औषध अपराधीलाई गोली
हानेर मार्ने कानून त्यहाँ छ । सायद त्यसरी जेलबाट
भाग्न खोज्ने अपराधीहरुलाई बरु गोहीले आहारा
बनाओस् भन्ने चाहना अधिकारीहरुको हुनसक्छ ।
इण्डोनेसियाको यो घटनाले लिभ एण्ड लेट डाइ
नामक हलिउड फिल्मको सम्झना गराएको छ ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.