काठमाडौं, १८ पुस । सद्भावना पार्टीका अध्यक्ष
राजेन्द्र महतोको विराटनगरमा हत्या गर्ने योजना
राज्यले बनाएको दाबी सो पार्टीका एक केन्द्रीय
सदस्यले गरेका छन् ।
सद्भावना पार्टीको केन्द्रीय कार्यालय
नयाँबानेश्वरमा आज (शनिबार) आयोजित पत्रकार
सम्मेलनमा केन्द्रीय सदस्य उपेन्द्र महतोले नेपाल प्रहरीले
अध्यक्ष महतोको हत्या योजना बनाएको दाबी गरे ।
‘विराटनगरमा नेपाल प्रहरीले हाम्रा अध्यक्ष राजेन्द्र
महतो ज्यूको हत्या योजना बनाएको सूचना पाएका
थियौँ’, उहाँले भन्नुभयो, ‘प्रहरीको योजना पाउँदा
पाउँदै पनि अध्यक्ष ज्यू आन्दोलनमा जानु भयो ।’
प्रहरीभित्र आफूहरूका सुराकी रहेको बताएका
केन्द्रीय सदस्य महतोले भने, ‘प्रहरीभित्र पनि हाम्रा
मान्छे छन् । विराटनगरमा प्रहरीमा रहेका हाम्रा
मान्छेले आएर अध्यक्ष राजेन्द्र महतोलाई रानी भन्सार
नाकाको धर्नामा नजानु रोएर भनेका थिए । तर
नमानेर जाँदा कुटपिट भयो । हत्याको प्रयास भएको
ती प्रहरीका मान्छेले भनेका हुन् ।’ महताले ती
प्रहरीको नाम भने खुलाएनन् ।
नेपाल प्रहरीले कुटेर अध्यक्ष राजेन्द्र महतोलाई गम्भीर
घाइते बनाएको बताएका केन्द्रीय सदस्य महतोले भने,
‘अध्यक्ष ज्यूलाई नेपाल प्रहरीले मात्रै कुटेको हो ।
भारतीय सुरक्षा बल एसएसबीले कुटेको होइन ।’
केन्द्रीय सदस्य महतो अध्यक्ष राजेन्द्र महतोसँग मधेस
आन्दोलनका क्रममा लगातारसँगै रहँदै आएका छन् ।
विराटनगर झडपमा पनि उनीसँग थिए ।
अध्यक्ष महतोलाई सुगर र ब्लड प्रेस रहेकाले लागेको
चोट निको हुन समस्या भएकाले भारतको राजधानी
नयाँदिल्ली उपचार गराउन लगिएको उनले बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य महतोले मधेस
आन्दोलनका घाइतेलाई उपचार नगर्न विराटनरका
अस्पताल र नर्सिङ होमहरूलाई राज्यका निकायले
निर्देशन दिएको दाबी गरे ।
प्रहरीले कुटपिट गर्दाको विराटनगरको सो
भिडियो विभिन्न दूतावासहरूमा पनि पठाएको
सो पार्टीका महासचिव मनीष सुमनले जानकारी
दिए । उनले भने, ‘अध्यक्ष ज्यूलाई कुटपिट भएको
भिडियो विभिन्न कुटनीतिक नियोगहरूमा
पठाएका छौँ ।’दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...