-->
बाबुराम पक्षको दाबी: तेस्रो भइसक्यौं, चाँडै पहिलो बन्छौं

१९ पुस, काठमाडौं । नेकपा एमाओवादीका अध्यक्ष
प्रचण्डले शनिबार इटहरीमा आयोजित १ नम्बर
प्रदेशको बैठकमा आफ्नो पार्टी चाँडै तेस्रोबाट
पहिलो बन्ने दाबी गर्दै थिए । सोही दिन
काठमाडौंबाट धौलागिरीतिर हिँड्न लागेका
‘नयाँ शक्ति अभियान’ का नेता देवेन्द्र पौडेलले भने-
हामी तेस्रो भइसक्यौं, अब पाँच वर्षभित्र पहिलो
शक्ति बन्छौं ।’
गफ हो कि साँच्चै ?
दोस्रो संविधानसभाको चुनावको नतिजालाई
आधार मान्दा नेपाली कांग्रेस अहिले नेपालको
सबैभन्दा ठूलो शक्ति हो भने एमाले दोस्रो र
एमाओवादी तेस्रो शक्ति हो । गणितका आधारमा
राप्रपा नेपाल चौथो शक्ति हो । तर, मधेसी
मोर्चालाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने हो भने
पहिलोदेखि चौथो शक्तिसम्मको विन्यास यसरी
गर्न सकिन्छ- कांग्रेस, एमाले, एमाओवादी र मधेसी
मोर्चा ।
पहिले एक्लै र त्यसपछि केही केन्द्रीय सदस्यहरु
बाहिरिएर डा. बाबुराम भट्टराईको नेतृत्वमा
‘नयाँशक्ति निर्माण अभियान’ बनेको छ, जसमा
एमाओवादीबाट एकजना पनि सांसदहरु गएका छैनन् ।
झट्ट हेर्दा बाबुराम समूह एक्लैजस्तो देखिन्छ ।
यो स्थितिमा तपाईहरु कसरी तेस्रो शक्ति हुनुभयो ?
यो त गफैमात्र भएन र ? पौडेलले अनलाइनखबरको
प्रश्नको जवाफ दिँदै भने- ‘मैले गफ गरेको होइन,
एमाओवादी छाडेर नयाँ शक्ति अभियानमा
लागेपछि मैले करिब ४० जिल्लाको भ्रमण गरिसकें,
बाहिरी जिल्लामा के भइरहेको छ भन्ने कुरा
काठमाडौंले बुझ्दैन ।’
पूर्वको मोरङ, सुनसरीदेखि हेटौडा, पोखरा र
सुर्खेतसम्मका मुख्य सहरहरुमा नयाँ शक्तिप्रति आकर्षण
र उभार देखिएको पौडेलले बताए । ‘पुराना
शक्तिहरुमा निराशा छ, नयाँ शक्तिप्रति सबैको
आकर्षण र उभार देखिएको छ, पौडेलले अनलाइनखबरसँग
भने- ‘पार्टी घोषणा नै नगरी हामी तेस्रो शक्ति
भइसक्यौं, पार्टी घोषणा गरेको ५ वर्षमा हामी
पहिलो बन्ने लक्षण देखिइसकेको छ ।’
विगतको संविधानसभाको गणितले अब काम नगर्ने
भन्दै पौडेलले अनलाइनखबरसँग भने- ‘अहिले कांग्रेस र
एमालेपछिको तेस्रो शक्ति हामी हौं,
एमाओवादीभन्दा हाम्रो शक्ति ठूलो भइसक्यो ।’
नयाँ शक्ति निर्माण गर्नेक्रममा सुरुमा दुईवटा लक्ष
राखिएको बताउँदै पौडेलले भने- ‘नयाँ शक्तिबारे
राष्ट्रिय बहस होस् भन्ने हाम्रो योजना थियो,
यसमा हामी सफल भएका छौं,बाबुरामजीलाई
विरोध गरेर होस् या समर्थन गरेर होस् सबैको ध्यान
हामीले नयाँशक्तितर्फ खिच्न सफल भयौं ।’
अबको दोस्रो काम नयाँ शक्तिलाई संगठित रुप लिनु
रहेको पौडेलले बताए । ‘हामीले करिब ४० जिल्लामा
भेटघाट र अन्तरक्रियाहरु गरिसक्यौं, संगठन
निर्माणको बलियो आधार तयार भएको छ,
पूर्वमाओवादीमात्रै होइन, नयाँ मानिसहरु हामीसँग
आएका छन् ।’
‘गाली घटिसक्यो’
नयाँ शक्तिका अभियन्ता पौडेलले अहिले सामाजिक
सञ्जालहरुमा डा. बाबुराम भट्टराईमाथिको गाली
कम हुन थालेको दाबी गरे । ‘पहिले ८० प्रतिशत गाली
आउँथ्यो, अहिले निकै कम भएको छ,’ पौडेलले भने-
अहिले विशेषगरी एमाओवादीबाट मात्रै हामीलाई
गाली आउने गरेको छ, बाँकी हामीप्रति आकर्षण छ ।
देशैभरि हामीले उभार देखिसक्यौं ।
विगतमा पनि काठमाडौंले बाहिरी जिल्लाको
मनोविज्ञान नबुझेर माओवादीलाई कमजोर आँकेको
पौडेलले सम्झिए । उनले भने- ‘काठमाडौं भन्दा
बाहिरको स्थिति फरक देखिएको छ, हामीप्रति
जनताको आशा र उत्साह छ, पुराना शक्ति र
सत्ताप्रति जनतामा आक्रोश छ ।’
सुर्खेतमा बाबुराम भट्टराईसँगै नयाँ शक्तिको
कार्यक्रम सकेर राजधानी फर्केको दुई दिन नबित्दै
बाग्लुङतिर हिँड्न लागेका पौडेलले उत्साहित देखिँदै
भने- ‘ एमाओवादी छाडेर नयाँ शक्ति अभियानमा
लागेपछि म फ्रेस भएको छु, त्यहाँ हुँदा एकअर्काको
विरोधमा षयडन्त्र र जालझेलका कुरा हुन्थे, अहिले
हामी सिर्जनात्मक बहसमा छौं, पुराना
शक्तिहरुलाई हामीले गणतन्त्रसम्म देशलाई
ल्याइपुर्याएकोमा धन्यवाद नै दिएका छौं, गाली
गरेर हिँडेका छैनौं ।’
साइँलाको विश्लेषणः अशोक राई ठूलो हुने ‘खतरा’
अघिल्लो साता एमाओवादी स्थायी कमिटीका
सदस्य गोपाल किरातीले आफ्नो दल भन्दा अशोक
राईको पार्टी ठूलो हुने खतरा औंल्याएका छन् । यस्तै
अवस्था हो भने आगामी चुनावमा एमाओवादी
चौथो या पाँचौं दलमा परिणत हुने किरातीको तर्क
छ ।
यद्यपि एमाओवादी अध्यक्ष प्रचण्डले भने अब
एमाओवादी पहिलो पार्टी बन्ने र बनाई छाड्ने
दाबी गर्दै आएका छन् । शनिबार उनले इटहरीमा यही
कुरा दोहोर्याए ।
नयाँ ध्रुवीकरणको ‘डिस्कोर्स’
नेपाली राजनीतिको ‘डिस्कोर्स’ मा एकातर्फ
बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ आफैं चर्चामा छ भने
अर्कोतिर अशोक राई र उपेन्द्र यादवले नेतृत्व गरेको
संघीय समाजवादी फोरम पनि विगतमा भन्दा
बलियो बन्न थालेको चर्चा छ ।
अघिल्लो चुनावमा अशोक राई र उपेन्द्र यादव
भिन्नाभिन्नै पार्टीका रुपमा चुनावमा गएका थिए
। अहिले उनीहरु एक भएका छन् । मधेसमा भएको
आन्दोलनले उपेन्द्र यादवले थप शक्ति आर्जन गरेका छन् ।
आदिवासी जनजातिको समूदायमा र विशेषतः
प्रवासमा समेत अशोक राईको पार्टीको प्रभाव छ ।
शायद यही अवस्थालाई बुझेर हुनुपर्छ गोपाल
किरातीले आगामी चुनावमा एमाओवादीभन्दा
अशोक राईको पार्टी ठूलो बन्ने विश्लेषण गरेको ।
र, यतिबेला बजारमा यो पनि हल्ला चल्न थालेको छ
कि भविश्यमा बाबुराम भट्टराईको नयाँ शक्ति र
संघीय समाजवादीवीच पार्टी एकता वा
मोर्चाबन्दीको सम्भावना समेत बढेको छ । त्यो
अवस्थामा नयाँ शक्तिले प्रचण्डसँग होइन, एमाले र
कांग्रेससँग पो प्रतिस्पर्धा गर्ने हो कि ?
नयाँ शक्ति अभियानका पौडेलको दाबी छ
-‘हामीले पहिलो शक्ति बनेर देशलाई आर्थिक
सम्वृद्धिको बाटोमा अघि बढाउने सोचेका हौं,
एमाओवादी त अब धेरै पछाडि परिसक्यो ।onlinekhabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.