काठमाडौं, १६ फागुन । १३ औं महाधिवेशनको दौडमा रहेको देशकै ठूलो दल नेपाली कांग्रेसको आज ‘अन्तिम’ बैठक बस्यो ।
पार्टी कार्यालय सानेपामा बसेको बैठक अरु दिनभन्दा भिन्नै थियो । नेताहरु शान्त देखिन्थे । अरु दिन आक्रोशित भएर बोल्ने नेताहरु आज शालिन र नरम भएर बोलेका थिए ।
बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका कार्यबाहक रामचन्द्र पौडेलले भावुक हुँदै आँसु नै खसाले । उनले आजसम्म साथ सहयोग र समर्थन गर्ने सबै नेताहरुलाई विदाई धन्यवाद दिए । उनले प्रस्तुत गरेको कार्यक्रम बहुमतबाट पारित भयो त्यसमा केही नेताहरुले मिठासपूर्ण विरोध र सुझाव दिए ।
कांग्रेस केन्द्रीय सदस्य महेन्द्र शर्माका अनुसार अरु दिन निकै आक्रामक शैलीमा प्रस्तुत हुने वरिष्ठ नेता शेरबहादुर देउवा पनि नरम थिए । नेताहरु पनि मायालु स्वरमा बोल्दै मिठासपूर्ण विरोध गरेका थिए । सबै केन्द्रीय सदस्यहरु भावुक थिए ।
सधै कुकुर विरालोजसरी प्रस्तुत हुने नेताहरुले सभ्य र सालिन व्यवहार बैठकमा प्रस्तुत गरेका थिए ।
नेता शर्माले भने- ‘सम्भवतः यो अन्तिम बैठक भएर होला सबै साथीहरु भावुक देखिन्थे । अब आकस्मिक बाहेक अर्काे बैठक महाधिवेशनपछि नयाँ नेतृत्वसहित बस्नेछ ।’
कांग्रेस महाधिवेशन यही फागुन २० देखि २३ सम्म काठमाडौंमा हुँदैछ । सभापतिका लागि संस्थापनबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, सुजाता कोइराला र यता शेरबहादुर देउवा एक्लै भिड्दैछन् ।
बैठकमा आज के–के निर्णय भयो ?
नेपाली कांग्रेसमा पदाधिकारी थप गर्ने संस्थापन समूहको प्रस्ताव अस्वीकृत भएको छ ।
संस्थापन समूहले पदाधिकारी थप गरेर मुलुकमा भएको परिवर्तनअनुसार संघीय संरचनालाई महत्व दिन खोजेको थियो ।तर वरिष्ठ नेता शेरबहादुर देउवा समूहले पदाधिकारी थप्न नहुनेभन्दै जोडदार रुपमा धारणा राखेपछि पदाधिकारी थप गर्ने विषयले ठोस सहमति पाउन नसकेको हो ।
पदाधिकारी थप गर्ने निर्णय गर्न नसकेको कांग्रेसले प्रदेशहरुलाई दुई दुई केन्द्रीय सदस्य दिने निर्णय गरेको छ । अञ्चललाई दिइदै आएको एक केन्द्रीय सदस्यमा थप गरेर एउटा प्रदेशमा दुई केन्द्रीय सदस्य दिने निर्णय भएको केन्द्रीय सदस्य महेन्द्र शर्माले जानकारी दिनुभयो । ‘पहिला अञ्चलको संरचना थियो । त्यसलाई खारेज गरेर प्रदेशको संरचनामा जाने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘एउटा प्रदेशलाई दुई केन्द्रीय सदस्य दिइने निर्णय भएको छ ।’
कांग्रेस बैठकले कार्यबाहक सभापति रामचन्द्र पौडेलको संशोधनसहित आएको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । यो नीति तथा कार्यक्रमलाई १३औँ महाधिवेशनको हलमा पेस गरिनेछ ।
संभवत कांग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठक अन्तिम भएको केन्द्रीय सदस्य शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम हो । सायद अब अर्को बैठक बस्ने छैन । १३औँ महाधिवेशनबाट आउने नयाँ कार्यसमिति कै बैठक अब बस्नेछ ।’
– दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...