-->
काँग्रेस महाधिवेशनः चिनियाँ राष्ट्रपतिलाई निम्तो

काठमाडौँ, १७ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा निमन्त्रणा गरिएको छ ।
महाधिवेशनको उद्घाटनसत्र यही फागुन २० गते खुलामञ्चमा आयोजना हुँदैछ । सो समारोहमा भाग लिन सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुषमा स्वराज, भाजपा नेता भगतसिंह कोसियारी तथा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी लगायत नेतालाई निमन्त्रणा गरिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सि जिनपिङ र पार्टीका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओलाई पनि महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनका लागि निमन्त्रणा पठाइएको काँग्रेस विदेश विभागका प्रमुख सुजाता कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी भारतीय बहुजन समाज पार्टीका अध्यक्ष कुमारी मायावती, भाकपा (माक्र्सवादी)का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका अध्यक्ष शरद पवार, महासचिव डिपी त्रिपाठी र भाकपाका महासचिव शुभराम सुधकर रेडीलाई आमन्त्रण गरिएको छ ।
यस्तै भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नीतिश कुमार, उत्तराखण्डका मुख्यमन्त्री हरीश रावत, बङ्गालका मुख्यमन्त्री ममता बनर्जी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र जनता दल (युनाइटेड)का अध्यक्ष शरद यादवलाई निमन्त्रणा गरिएको कोइरालाले बताउनुभयो ।
म्यानमाकी प्रजातन्त्रवादी नेत्री आङ्साङ सुकी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष जर्ज पपन्द्रेयु र महासचिव लुइस आयलालाई पनि महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको छ । उद्घाटन सत्रमा बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान लगायत देशका नेतालाई समेत आमन्त्रण गरिएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.