काठमाडौं, २३ माघ । नक्कली शैक्षिक
प्रमाणपत्रको आधारमा डाक्टर भएका १२ जनालाई
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो
महाराजगञ्जले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिएनसी अस्पताल बिर्तामोड
झापामा कार्यरत झापा अनारमनी–३ का
रामबाबु गिरी, पशुपती मोडेल अस्पताल ईटहरीका
प्रमुख मोरङ कटहरी–२ का पशुपती चौधरी, गोल्डेन
अस्पताल विराटनगरमा कार्यरत सप्तरी
कल्याणपुर–३ का मो.कमरुल हक, कोशी अञ्चल
अस्पतालमा कार्यरत सप्तरी बैरवा–२ का हाल
मोरङ बिराटनगर उपमहानगरपालिका–१३ बस्ने
तुलसीकुमार महतो, ग्लोबल अस्पताल मिर्चैया
सिराहामा कार्यरत धनुषा लोहना–८ का
मो.अहमद सिद्धिकी, जनकपुर अञ्चल अस्पतालमा
कार्यरत महोत्तरी हात्तीसर्वा–५ का
सन्तोषकुमार यादव, चानसी मेडिकल हल जनकपुरमा
कार्यरत धनुषा जनकपुर नगरपालिका–१ का
कल्याण विश्वास, कलेज अफ मेडिकल साईन्स
भरतपुरमा कार्यरत सिराहा विष्णुपुर–५ का
बिनिता यादव, अजित मेडिकल हल जनकपुरमा
कार्यरत धनुषा जनकपुर नगरपालिका–१४ का
भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक
जनकपुरमा कार्यरत धनुषा सत्तोखर–६ का
शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक
तौलिहवा कपिलबस्तुमा कार्यरत कपिलबस्तु
तौलिहवा नगररपालिका–५ का अफजल हुसैन र
ग्लोवल अस्पताल ग्वार्को ललितपुरमा कार्यरत
महोत्तरी औरही–६ का श्यामबाबु साह रहेका छन्
।
चिकित्सकहरुको दर्ता प्रमाणपत्र परीक्षामा
सहभागी भएका परीक्षार्थीहरुले नक्कली
प्रमाणपत्रको आधारमा अध्ययन गरी सोही
आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिई
चिकित्सक बनी काम कार्य गरेको, चिकित्सक
दर्ता परीक्षामा उतिर्ण नै नभई बिना दर्ता
प्रमाणपत्र रजिष्टर्ड चिकित्सक हुँ भनि लेखि
सर्वसाधारण मानिसहरुको उपचार गराइरहेको
सम्बन्धमा सो ब्यूरो, नेपाल मेडिकल काउन्सिल,
उच्च माध्यमिक शिक्षा परिषदद्वारा संयुक्तरुपमा
‘अपरेशन क्वाक’ सुरु गरी छानबिन र अनुसन्धान हुँदा
विभिन्न तहका नक्कली प्रमाणपत्र पेश गरेको
पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
नक्कली प्रमाणपत्र पेश गर्नेमध्ये नेपालबाट एसएलसी
र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश गर्ने १,
भारतवाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश
गर्ने १० र भारतवाट प्रवेशिका परीक्षा र
प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश गर्ने १ जना
रहेका छन् ।
पक्राउ व्यक्तिहरुका सम्बन्धमा थप अनुसन्धान
भइरहेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...